१९ असार २०८३, शुक्रबार

वाइडबडी भ्रष्टाचारमा मुछिएका तीन मन्त्री ओली, देउवा र प्रचण्ड क्याबिनेटका

वाइडबडी भ्रष्टाचारमा मुछिएका तीन मन्त्री ओली, देउवा र प्रचण्ड क्याबिनेटका

काठमाडौं – नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमिततामा बहालवाला सहित दुईपूर्व पर्यटनमन्त्रीको संलग्नता रहेको संसदीय समितिले ठहर गरेको छ । 

संसदीय समितिले गरेको छानबिनमा २०७३ सालपछि गठन भएका तीनवटा सरकारका पर्यटन मन्त्री मुछिएका छन् । 

प्रतिनिधि सभाको लेखा समिति अन्तर्गत गठित उपसमितिले विमान खरिद प्रकरणमा बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी तथा पूर्वमन्त्रीद्वय जितेन्द्रनारायण देव र जीवनबहादुर शाहीको संलग्नता रहेको निष्कर्ष निकालेको छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका शाही पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पर्यटन मन्त्री थिए । तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद् देव शेरबहादुर देउवा नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए । यद्यपि अहिले दुवै कांग्रेसका तर्फबाट सांसद छन् ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी संयोजकत्वको उपसमितिले बुधवार समितिमा बुझाएको ५२ पेज लामो प्रतिवेदनमा बहालवाला सहित तीन मन्त्रीको प्रत्यक्ष संलग्नता रहेको ठहर गरिएको हो । समितिले ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । 

महालेखा परीक्षकको ५५औं वार्षिक प्रतिवेदनमा विमान खरिद प्रक्रिया कानूनसम्मत् नभएको प्रष्ट उल्लेख हुँदाहुँदै मन्त्री अधिकारीले छानबिन नगरी जानीजानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएको तथा समितिमा आएर महालेखासँगको परामर्शमा रकम भुक्तानी दिएको भनी ढाँटेको उपसमितिको ठहर छ ।

‘रकम भुक्तानी गर्न बदनीयतपूर्वक मिलेमतो गरेको देखिँदा जिम्मेवारीबाट पन्छिन नमिल्ने देखिँदा प्रचलित कानूनबमोजिम कारवाही गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्दछौं,’ प्रतिवेदनमा भनिएको छ ।

उपसमितिले बुधवार समितिमा बुझाएको ५२ पेज लामो प्रतिवेदनमा पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई पनि कारवाहीको सिफारिस गरेको छ । दुवैले अनियमितताको नैतिक जिम्मेवारी लिनुपर्ने देखिएको भन्दै उपसमितिले उनीहरूलाई पनि कानूनसम्मत् कारवाहीका लागि निर्देशन दिन सिफारिस गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्