
काठमाडौं — दिवंगत बलिउड अभिनेता कादर खानका हास्य संवादले जोकोहीको उदास अनुहारमा मुस्कान ल्याइदिन्थ्यो । तर संसारलाई हाँसो बाँड्ने यी व्यक्ति आफ्नो जिन्दगीमा पीडा र दुःखको लामो यात्रामा हिँड्न बाध्य भएका थिए ।
कादरको बाल्यकाल एकदमै समस्यामा गुज्रिएको थियो । उनका मातापिता अफगानिस्तानको राजधानी काबुलभन्दा अलिक पर बस्थे । उनी जन्मिएपछि मातापिता मुम्बई आए ।
उनीहरू मुम्बईको झोपडपट्टीमा बस्न थाले । त्यहाँ रक्सी र जुवा एकदमै चल्थ्यो । अनि त्यहाँ हत्या पनि हुन्थ्यो । त्यसले गर्दा कलाप्रेमी मन भएका कादर खान एकदमै विचलित हुन्थे । त्यही समयमा उनका बुवा र आमाको पनि झगडा हुन थाल्यो र उनीहरू छुट्टिए ।
पाकिस्तानबाट आएका कादर खानका मावली हजुरबुवा र मामाले उनकी आमालाई अर्को बिहे गराइदिए । कादरका सौतेनी बुवा उनलाई एकदमै सताउँथे । उनलाई जैविक बुवासँग पैसा माग्न सौतेनी बाले पठाउँथे । दुई रुपैयाँको भिख
माग्नका लागि कादर लामो यात्रा पैदलै गर्थे ।
उनकी आमा र उनले एक रुपैयाँको दाल र रोटीमा गुजारा चलाउने गरेको र हप्ताको तीन दिन मात्र खाना खाने गरेको कादर खानले एक अन्तर्वार्तामा बताएका छन् । अरू दिन उनीहरू भोकै बस्थे ।
पैसा कमाउन कादरले ज्याला मजदूरी गर्न थाले । तर आमाले उनलाई पढाइ गर्न प्रेरित गरिन् । अनि उनले पढाइमा ध्यान दिए र पछि इन्जिनीयरिङको प्राध्यापक बने ।
अभिनय र मिमिक्रीमा उनको शोख थियो । उनी घरनजिकको चिहानमा अभिनयको अभ्यास गर्थे । त्यहीँ नै उनले आफ्नो अभिनय निखारे ।
कादर खानकी आमाको मृत्यु अप्रिल १ मा भएको थियो । कादरले मानिसहरूलाई आमाको मृत्युका बारेमा बताउँदा अप्रिल फूल बनाएको ठाने ।
आमाको मृत्यु एकदमै पीडादाय रह्यो । कादरले राज्य नाटक प्रतियोगिताबाट फर्किंदा आमाले रगतको बान्ता गरिरहेको देखे । आमाको हालत देखेर उनी डाक्टर बोलाउन गए । डाक्टरले आउन नमानेपछि उनले फिल्मी शैलीमा
डाक्टरलाई बोकेर आमानजिक पु–याएर अब हेर् भने ।
तर त्यतिखेरसम्म आमाको मृत्यु भइसकेको थियो । यो पीडाले आफूलाई जिन्दगीभरि चोट दिएको उनी पछिसम्म पनि बताउँथे ।
एजेन्सी