
बुटवल – ५ नम्बर प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले मुलुकको समृद्धिको आधार विद्युत् रहेको बताएका छन् ।
त्यसको लागि विद्युत्को उत्पादन र सही सदुपयोग हुन आवश्यक रहेकोमा जोड दिए । नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन प्रदेश भेला तथा प्रदेश समितिको घोषणा सभामा बुधवार बोल्दै चौधरीले विद्युत्को तीब्र उत्पादन र विकास गरेपछि मात्र मुलुक समृद्ध बन्ने बताए ।
‘समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको लक्ष्य छ,’ मन्त्री चौधरीले भने, ‘त्यसको लक्ष्यमा पुग्न विद्युत्को तीब्र रूपमा उत्पादन र विकास गर्नुपर्छ ।’ चौधरीले विद्युत्को धेरै चुहावट हुने गरेको भन्दै त्यसको नियन्त्रण्मा कर्मचारी खट्नुपर्ने बताए । ‘विद्युत्को क्षेत्रमा भ्रष्टाचार र अनियमितता पनि छन् । त्यसको नियन्त्रण गर्न कर्मचारीहरूले खवरदारी पनि गरिनुपर्छ,’ मन्त्री चौधरीले भने ।
उनले नेपालका छिमेकी २ राष्ट्रहरू भारत र चीन विकासको तीब्र गतिमा अगाडि बढेका प्रसङ्ग उठाउँदै चौधरीले अब नेपाल पनि त्यो गतिमा जानुको विकल्प नभएको बताए । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका संयोजक रामेश्वर पौडेलले विद्युत् प्राधिकरणका कर्मचारीहरू रूपान्तरण हुन आवश्यक भएको बताए । उनले कर्मचारीलाई ग्राहकको सम्मानका साथ सेवा गर्न आग्रह गरे । कार्यक्रममा सहसंयोजक खगेन्द्र शाहीले कर्मचारीलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा संगठनका केन्द्रीय विभाग प्रमुख भूमिनन्द अर्याल, आन्तरिक व्यवस्थापन विभागका झुलिराम थापा, सहकारी तथा अनुसन्धान विभाग प्रमुख रामकुमार थेवे, जिफन्ट केन्द्रीय सदस्य हरि कार्की, नेकपा रुपन्देहीका नेता निर्मल जिसी विद्युत् प्राधिकरण बुटवल शाखा प्रमुख भानुभक्त भट्टराई लागतले बोलेका थिए ।
प्रदेश इन्चार्ज राजेश नेपालको अध्यक्षता, सहइन्चार्ज देवेन्द्र वैरागीको स्वागत तथा केन्द्रीय सचिवालय सदस्य राजेन्द्र क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अध्यक्षमा कल्पना थापा
नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन प्रदेश भेलाले कल्पना थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा विष्णुबहादुर महत, सचिवमा टेकबहादुर बुढा र कोषाध्यक्षमा कल्पना पाण्डे रहेका छन् ।
सदस्यमा केशव पौडेल, सुरेशचन्द्र पौडेल, अविनाश ज्ञवाली, बाबुराम ज्ञवाली, फटिक तरामु, तुलसी डाँगी, गजेन्द्र चौधरी, विनोद बानियाँ, माधव घिमिरे, हेमन्तप्रसाद चौधरी, भोलानाथ पाण्डे, दिनबहादुर आचार्य, टेकबहादुर बोहोरा, दिलमान रोका, भुपेन्द्र खनाल, अजय महासेठ र प्रदीप परियार रहेका छन् ।
सल्लाहकारमा गौरव पाण्डे, कमल गौतम, यादवप्रसाद घिमिरे, छविलाल पन्थी, तारा पौडेल र शिवप्रसाद पाण्डे रहेका छन् ।