०२ असार २०८३, मंगलबार

राप्रपा बैठकः यस्ता छन् ६ बुँदे निर्णय (विज्ञप्तिसहित)

राप्रपा बैठकः यस्ता छन् ६ बुँदे निर्णय (विज्ञप्तिसहित)

काठमाडौं–राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको विस्तारित बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको छ । 

बैठकले फागुन ७ देखि हिन्दु राष्ट्र पुनःस्थापनाको लागि दवाव दिन चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । 
यस्तै बैठकले माघ १३, १४ र १५ गते देशका सबै स्थानीय तहमा हिन्दु राष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण अभियान र सभा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि  केन्द्रले केन्द्रीय प्रतिनिधि खटाउने भएको छ ।

यस्तै बैठकले पौष २७ गते राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको पनि प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रेस विज्ञप्ति

राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको विस्तारित बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ, बैठकमा केन्द्रीय सदस्यहरु, विभागका प्रमुख र सदस्य सचिव र भातृ संगठनका अध्यक्ष र महासचिवको सहभागीता रहेको थियो । बैठकले देहायका निर्णयहरु गरेको छ ।
१. राप्रपाले फागुन ७ गतेदेखि सञ्चालन हुने हिन्दु राष्ट्र पुनःस्थापनाको आन्दोलनलाई प्रभावकारी बनाउन रणनीतिक छलफल गरेको छ । हिन्दुराष्ट्र पुनस्थापना लगायतका मागहरु राखेर पार्टीले फाल्गुन ७ बाट शुरु गर्ने जनसंघर्षको सन्दर्भमा ः–
क) फाल्गुन ७ गते काठमाण्डौ उपत्यकामा संघीय सरकार, प्रदेश राजधानीमा प्रदेश सरकार तथा जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमा हिन्दुराष्ट्र पुर्नस्थापना लगायतका मागहरु सहितको ज्ञापनपत्र दिने । ज्ञापनपत्रमा उल्लेख भएका मागहरु पुरा गर्न सरकारलाई फाल्गुन मसान्तसम्मको अल्टिमेटम दिने ।
ख) मागहरु पुरा नभएमा चैत्र १ गते पछि संघर्षका कार्यक्रमहरु घोषणा गरिनेछ र हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि चरणबद्ध संघर्ष गरिनेछ । 
ग) माघ १३, १४ र १५ गते देशका सबै स्थानीय तहमा हिन्दु राष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण अभियान र सभा सञ्चालन गर्ने । उक्त प्रयोजनको लागि पार्टी केन्द्रले केन्द्रीय प्रतिनिधि खटाउनेछ ।
२. राप्रपाको संगठन सुदृढीकरण अभियानलाई ध्यान दिई केन्द्रीय कार्य समितिका प्रत्येक सदस्यले अनिवार्य रुपले प्रदेश सभा वा संघीय संसदमा आफ्नो निर्वाचन क्षेत्र छान्नुपर्ने, छानिएका निर्वाचन क्षेत्रको जानकारी एक हप्ता भित्र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने र निर्वाचन क्षेत्र छनौट नगरेका सदस्यलाई संघीय र प्रादेशिक निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उमेदवार नबनाउने निर्णय गरेको छ ।
३. यसअघि माघको दोश्रो हप्ता हुने भनिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा फागुन १५ गतेदेखि ३० गतेसम्म संचालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वाभिमानको जगेर्नाका लागि जनचेतना अभिवृद्धि गर्ने, नेपालमा धार्मिक सद्भाव कायम राख्ने, नेपाललाई सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि जनमत सिर्जना गर्ने, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, संघीयताको खारेजी र सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको पक्षमा जनजागरण गर्ने यात्राको उदेश्य रहेको छ ।
४. पौष २७ गते राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक बिदा दिन राप्रपा सरकारसंग माग गर्दछ ।
५. राप्रपाले राष्ट्रिय एकता दिवस भव्य रुपले मनाउनेछ, पार्टीको प्रदेश, जिल्ला र सबै तहलाई एकता दिवस मनाउन निर्देशन दिएको छ ।
६. वाइड बडि जहाज खरिद प्रकरणमा संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले अनियमितता भएको ठहर गरेको विषयलाई गम्भीरतापूर्वक लिइ तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन राप्रपा सरकारसंग माग गर्दछ ।


मोहन श्रेष्ठ
प्रमुख
प्रचार बिभाग
 

salt training

कमेन्ट गर्नुहोस्