काठमाडौँ, २४ फागुन - नेपाल पत्रकार महासङ्घले प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा रहेको त्रियू एफएम १०७ मेगाहर्जको प्रशारण नियमति गर्न माग गरेको छ ।
महासङ्घका महासचिव उजिर मगरले आज एक विज्ञप्ति जारी गरी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन दिन आइतबार बिहानदेखि प्रहरी प्रशासनले क्याम्पस हाता नियन्त्रणमा लिई प्राध्यापक, कर्मचारीसमेतलाई प्रवेश गर्न नदिएका कारण रेडियोको प्रसारण सेवा बन्द हुन पुगेकोप्रति ध्यानाकर्षण गराउँदै तत्काल एफएमको प्रशारण नियमित गर्न माग गरेका छन् ।
रेडियोको प्रसारणमा भएको अवरोधले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासङ्घको ठहर छ । यसैबीच नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखा सदस्य टेकबहादुर मास्की रानामाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गर्न महासङ्घले सरकारसँग माग गरेको छ ।
पत्रकार रानामाथि आइतबार साँझ बुटवल उपमहानगरपालिका–८ स्थित गोपालपार्कमा अज्ञात व्यक्तिको समूहले आक्रमण गरेको थियो । रासस