
काभ्रेपलाञ्चोक– प्रहरीले प्रतिबन्धित लागू औषध कारोवार गर्ने नौ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनमार्फत अवैध लागू औषध नाइट्राभेटसहित दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले ५० पत्ता (७५० चक्की) झोलामा लुकाइछिपाइ तराईबाट बिपी राजमार्ग हुँदै धुलिखेल आउने क्रममा नमोबुद्ध नगरपालिका–७ स्थित मङ्गलटारमा जाँचका क्रममा सुनसरीको गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहेता र भारतको कानपुरस्थित पुपीका २१ वर्षीय मनोजकुमार मेहेतालाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक रविराज खड्काले प्रारम्भिक अनुसन्धानबाट सो लागू औषध प्रतिचक्की रु एक हजारदेखि रु एक हजार ५०० सम्ममा बिक्री हुनेगरेको बताए । यस्तै बनेपास्थित इलाका प्रहरी कार्यालयले पनि विभिन्न मितिमा नाइट्राभेट लागू औषधसहित सातलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरी निरीक्षक नीरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार यही पुस १३ गते र १७ गते बनेपाका विभिन्न स्थानबाट कारोवार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । सातजनाबाट नाइट्राभेट १७० पत्ता (२५५० चक्की) बरामद गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।
चालू आवको पुस तेस्रो हप्तासम्म १० वटा लागू औषध कारोवार घटनामा १४ र गत आवमा१२ वटा लागू औषध कारोवार घटनामा १६ लाई लागू औषधसम्बन्धी मुद्दा चलाइएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।