१० साउन २०८३, आइतबार

थारु भाषाको फिचर फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक

पुस २१, २०७५
थारु भाषाको फिचर फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक

धनगढी – ठूलो लगानीको थारु भाषाको फिचर फिल्म भुरभुरा रहरको टे«लर सार्वजनिक गरिएको छ ।

४० लाखको लागतमा निर्मित सो संस्कृतिमा आधारित थारु फिचर फिल्म भुरभुरा रहरको ट्रेलर युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो । 

भुरभुरा रहर थारू समुदायको कथा हो । पश्चिम नेपालको थारू समुदायमा दशैंको रौनकसँगै सखिया नाच्ने प्रचलन छ । गाउँका किशोरी तथा किशोरहरूको सामूहिक नाच सखिया हो ।

पुरुषहरुले बजाउने मादलको तालमा महिलाहरुले नृत्य गर्छन् । यो नाचमा मुजुराको ताल पनि अपरिहार्य हुन्छ । मुजुरा महिलाले बजाउँछन् । थारू समुदायमा दशैंको रौनक भनेकै सखिया हो । तर गाउँका सबै केटा तथा केटीमा सखिया नाच्नका लागि चाहिने सामानहरू नहुन पनि सक्छ । 

आर्थिक अवस्था निकै कमजोर भएका परिवारलाई त झनै गाउँमा हुने यस्ताखाले नृत्यमा सहभागी हुने कल्पनाको चित्रण सो फिल्ममा गरिएको निर्देशक मदन चौधरीले जानकारी दिए । 

निर्देशक चौधरीका अनुसार थारू गाउँकी एउटी किशोरीको रुमानी चाहना र घर परिवारको माया र पीडामा पोतिएको मनोविज्ञान यो फिल्मको मुख्य सार हो । 

फिल्मले गाउँमा हुर्किएका एउटै उमेरका केटीहरूको मनोविज्ञान पनि दर्साइएको बताइएको छ । जो कोही आर्थिक रूपले सबल परिवार र कोही आर्थिक रूपले दयनीय परिवारमा हुर्किएका हुन्छन् ।

थारू फिल्मको इतिहासमै यस फिल्ममा पहिलोपटक रेड क्यामेरा प्रयोग भएको छ । भने छाँयाकन बर्दियाको ठाकुरद्वारास्थित पत्थरबोजीमा गाउँमा भएको छ ।

थारु फिल्मस् प्रोडक्सन र रामलाल चौधरीले निर्माण गरेको फिल्ममा इन्द्र चौधरी, भिष्मा चौधरी, छबिलाल कोपिला, शिवानी चौधरी, लहिया थारुले मुख्य अभिनय गरेका छन् । फिल्म  सुशील चौधरीले लेखेका छन् । 

फिल्म थारु समुदायको नयाँ वर्ष माघी लगत्तै देशव्यापी च्यारिटी गरिने निर्देशक चौधरीले बताए । 

हेर्नुस् भिडियो :

salt training

कमेन्ट गर्नुहोस्