
सुर्खेत – मंसिर २ गते कर्णाली प्रदेशको ‘हेलो मुख्यमन्त्री’ कार्यालयमा १ फोन आयो ।
त्यो दिन कर्णाली प्रदेश अस्पतालमा डाक्टर थिएनन् । डाक्टर अस्पतालमा नहुँदा आफन्तको उपचार गर्न समस्या भयो, कहाँ गएर उपचार गर्ने होला भनेर एक जनाले फोन गरे ।
ती व्यक्तिले १०९६ मा फोन गरेका थिए । उनको समस्या समाधान भयो ।
यो दृष्टान्त उदाहरण मात्रै हो । साउनयता करीब १ सय वटा उजुरी हेलो मुख्यमन्त्रीमा आएको पाइएको छ । जसरी साउन महिनामा उजुरी आएका थिए, त्यसरी उजुरी बढ्नुको साटो अहिले शून्यतामा झरेको छ ।
शुरूशुरूमा आउने उजुरी अनियमितता भएको, डाक्टर नभएको, सरकारी सेवा प्रवाहमा चुस्तता नभएको भन्ने खाले आउने गरेका थिए ।
हेलो मुख्यमन्त्री कार्यालयका अधिकृत वासुदेव तिवारीका अनुसार गत साउनमा ५५ वटा उजुरी परेका थिए । भदौमा करीब आधा उजुरी घटेर ३१ वटा उजुरी परेका छन् ।
असोजमा १२ वटा मात्र उजुरी परेकोमा कात्तिकमा ७ वटा उजुरी परेको थियो । मंसिरमा १ वटा मात्रै उजुरी परेकोमा पुसमा हालसम्म एउटा उजुरी पनि परेको छैन ।
उजुरी नपर्नुको कारण के हो त ? अधिवक्ता दूर्गा सापकोटा प्रदेश सरकारको गति हेरेर उजुरी दिनेको संख्या घटेको हुनसक्ने बताउँछन् । ‘प्रदेश सरकारले पाउने जति अधिकार नपाएको र कार्यान्वयन गर्ने निकायको समेत व्यवस्थापन गर्न नसकेका कारण उजुरी दिनेको संख्या शून्यतामा झरेको होला,’ उनले भने, ‘तर अब सरकारले बिस्तारै गति लिएको खण्डमा उजुरीको संख्यामा बृद्धि हुन सक्छ ।’
शुरूशुरूमा बडो तामझामका साथ हेलो मुख्यमन्त्री कार्यक्रम लागू गरेका कारण पनि बढी उजुरी परेको हुनसक्ने उनको अनुमान छ । ‘सरकारले हेलो मुख्यमन्त्री कार्यक्रमलाई बडो तामझामका साथ प्रचारप्रसार गरेको थियो,’ उनले भने, ‘अहिले त्यो सेलाएका कारण पनि उजुरी नपरेका हुन सक्छन् ।’ हिउँद लागेसँगै हेलो मुख्यमन्त्री कार्यालय चिसिएको छ र गुनासा कम भएका छन् ।
सरकारले हेलो मुख्यमन्त्री कार्यक्रमलाई राख्ने हो भने प्रचारप्रसार गर्ने र आएका समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए । ‘नभए जसरी सरकार सुस्ताउँदै जान्छ, त्यसरी नै उजुरी पनि सुस्ताउँदै जान्छन्,’ उनले भने ।