
काठमाडौं–सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो ।
कार्यालय प्रमुख पवन सुवेदी र अधिकृत सीताराम खनाललाई जनही आठ हजार रुपैयाँ जरिवानासहित तीन महिना जेल तोकिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । त्यस्तै, अधिकृत डेकराज पोखरेल, नायब सुब्बाहरू डिलाराम खरेल, सतानन्द उपाध्याय, हुतराज पौडेल, अरुणकुमार गौतम, केशवराज डाँगी, गणेशमान आचार्य, ललितबहादुर वली र दीपेन्द्रबहादुर सिंहलाई जनही पाँच हजार जरिवानासहित तीन महिना जेल सजायको फैसला भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ असार ०७४ मा लाइसेन्स वितरणमा लाखौँको चलखेल गरेको आरोपमा कार्यालय प्रमुख पवन सुवेदीसहित १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । चारपांग्रे सवारीसाधनको अनुमतिपत्रको लिखित परीक्षामा भ्रष्टाचार भएको सूचना पाएको अख्तियारले अनुसन्धानपछि मुद्दा दायर गरेको थियो । २३ हजार लाइसेन्स वितरणमा आर्थिक चलखेल गरेको प्रमाण भेटेपछि प्रमुख सुवेदीलाई निलम्बन गरेरै मुद्दा चलाएको थियो ।, नयाँ पत्रिकामा खबर छ ।
प्रधामन्त्रीलाई फोरमको स्मरणपत्र
प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय समाजवादी फोरम नेपालले मुलुकलाई चाँडै नै आर्थिक समृद्धि हासिल गर्न सरकारले चालेको कदमलाई प्रभावकारीरुपमा लैजान माग गर्दै स्मरण पत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटी ११ बुँदे स्मरणपत्र बुझाएको फोरम नेपालका महासचिव रामसहायप्रसाद यादवले जानकारी दिए ।
स्मरणपत्र बुझाउँदा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता सहभागी थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्य गरी मुलुकबाट गरीबी, बेरोजगारी, आर्थिक फछ्र्यौटेपन, असमानता र विभेदलाई अन्त्य गर्दै सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, समावेशी प्रतिनिधित्वसहितको समावेशी लोकतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै आर्थिक समृद्धितर्फ तीव्रगतिमा अगाडि बढ्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई पूरा गर्नका लागि स्मरणपत्र बुझाएको उनले बताए ।
स्मरणपत्रमा मुलुकको विद्यमान राष्ट्रिय समस्यालाई हल गर्न, नीति निर्माण र त्यसको कार्यान्वयनमा सहयोग पु¥याउन दुवै पार्टीको बीचमा संयुक्त कार्यदल बनाउनुपर्ने माग गरिएको छ । फोरम नेपालले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानको मान्यता, राजनीतिक उपलब्धिलाई संस्थागत गर्न र राष्ट्रिय समस्यालाई हल गर्नका लागि संविधान संशोधन गर्न आवश्यक गृहकार्य गरी संसद्को यसै सत्रमा विधेयक पारित गराउनुपर्ने उल्लेख छ ।
यसैगरी ऐन÷कानून निर्माण वा संशोधन गर्दा सङ्घीय गणतन्त्र मजबुत हुने गरी निर्माण गर्नुपर्ने, मुलुकमा बढ्दो अराजकता, ढिलासुस्ती, कमिशनतन्त्र, भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गरी जनतालाई सामाजिक न्याय र सुशासनको प्रत्याभूति गराउनुपर्नेलगायतका स्मरणपत्रमा रहेका छन् ।
वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रममा सभापति देउवाले वाइडबडी विमान प्रकरणमा जुनसकै पार्टीको भए पनि कारवाही हुनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारे ।
सरकारले छुट्टै छानविन समिति बनाएर घटनालाई लुकाउने शङ्का उत्पन्न भएको बताउनुहुँदै उनले भने, “घटनामा संलग्न जोसुकै भए पनि काङ्ग्रेसले छाड्दैन”, सभापति देउवाले जनताको इच्छा र चाहनाअनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको आरोप लगाए ।
३ कक्षा पास गरे भत्ता
कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक विद्यार्थीलाई भत्तासमेत वितरण गर्न थालेको छ । कुश्मा नगरपालिका–१ पाङको मालढुंगामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो ।
प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गत वर्षदेखि प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन थालिएको हो । यस वर्ष ५ विद्यार्थीले भत्ता पाइरहेका छन् । कक्षा ३ पास गरका आक्रोश माझी, सीता माझी, निर्मा माझी, कृष्ण माझी र अञ्जना माझीले गत असोजमा पहिलो किस्ताबापत १८ हजार ६ सयका दरले भत्ता बुझेका हुन् । भत्ता पाउन थालेयता बालबालिका विद्यालयमा नियमित छन् ।, कान्तिपुरमा खबर छ ।
पूर्वराष्ट्रपति डा. यादव चिकित्सकीय सेवामा फर्कने संकेत
पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन् । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औँ वार्षिक साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाएको बताए । राष्ट्रपति हुँदा सरकारी अस्पतालमा नै उपचार गराएको स्मरण गर्दै उनले आफू पहिलो राष्ट्रपति भएको नाताले पनि सिस्टम बसाउने जिम्मेवारी भएको उल्लेख गरे । भारतको कोलकत्तामा चिकित्सा शिक्षा अध्ययन गरेका यादव राजनीतिमा आउनुभन्दा अघि वीपी कोइरालाको निजी चिकित्सक थिए ।
कांग्रेस केन्द्रीय समिति बैठक माघ १० मा
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । माघ १० गतेका लागि बैठक डाकिएको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको रणनीति र कार्ययोजनाका विषयमा केन्द्रीत रहेर छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको हालै सम्पन्न महासमिति बैठकपछि पहिलोपटक काँग्रेस केन्द्रीय कार्यसमिती बैठक बस्ने भएको हो ।
डीपीएल अक्सन सम्पन्नः छ टोलीले किने ७२ खेलाडी
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) शनिबार सम्पन्न भएको छ । यही माघ २६ गतेदेखि फागुन ११ सम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि छवटा क्लबले अक्सनबाट ७२ खेलाडी र ट्यालेन्ट हन्टबाट छजना खेलाडी छनोट गरेका छन् ।
अक्सनमा कुल १८६ जना खेलाडीहरु सहभागी थिए जसमध्ये प्रत्येक टोलीले ११ जना खेलाडीहरु टोलीमा लिएका छन् । खेलाडी खरिद गर्न टोलीहरुले अधिकतम रु १२ लाख खर्च गर्न पाउने नियम थियो । रु १२ लाख बढी रकम खर्चिए २५ प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था थियो ।
अक्सनमा सहभागी २०५ खेलाडीहरुमध्ये ७२ जना खेलाडीहरु बिक्री भए भने बाँकीलाई कसैले पनि किनेन । यस्तै ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडीहरुमध्ये छ जनालाई छ वटा टोलीले एक÷एक खेलाडी लिएका छन् । ६ जना खेलाडीले अधिकतम मूल्य पाएका छन् । पवन शर्राफ, मोहम्मद आरिफ शेख, ललित भण्डारी, ललितनारायण राजबंशी, विनोद भण्डारी, भिम सार्कीले अधिकतम २ लाख ५० हजार मूल्य पाएका हुन् । पवनलाई धनगढी स्टार्स, ललित राजवंशीलाई काठमाण्डौं गोल्डेन्स र आरिफलाई महेन्द्रनगर यूनाईटेडले खरिद गरेको हो ।
रुपन्देही च्यालेन्जर्सले ३ जना खेलाडीलाई महँगो मूल्य तिरेको छ । ललित भण्डारीसँगै विनोद र भिम सार्की रुपन्देहीका लागि २ लाख ५० हजारमा बिकेका हुन् । उनीहरुपछि महंगो मूल्य पाउने खेलाडीहरुमा प्रदीप ऐरी रुपन्देही २ लाख ४० हजार, रोहीत कुमार पौडेल महेन्द्रनगर २ लाख ३० हजार,सन्दीप जोरा २ लाख ३० हजार, तथा भुवन कार्कीलाई २ लाख १० हजार सिवाईसी अत्तरीयाका लागि बिकेका छन् ।
यस्तैगरी धनगढीले सुनील धमला र अमित श्रेष्ठलाई १ लाख ८० हजार, विराटनगरले मोहम्मद आशिफ शेखलाई १ लाख ८० हजार, कुशल भुर्तेललाई १ लाख ६० हजारमा किनेको छ । धनगढीले सौरभ खनाललाई १ लाख ६० हजार, काठमाण्डौंले रासिद खान र अनिल कुमार साहलाई १ लाख ७० हजार, विक्रम कुमार भुसाललाई १ लाख ६० हजार तिरेको छ भने महेन्द्रनगरले अविनाश बोहोरालाई १ लाख ७० हजार, अमर सिंह रौतेलालाई १ लाख २० हजार तथा रुपन्देहीले सन्दीप सुनारलाई १ लाख १० हहजार तिरेर किनेको छ ।
अक्सनमा सहभागी छवटा टोलीमध्ये खेलाडी खरिदका लागि वसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेञ्जर्सले रु १४ लाख ४५ हजार खर्च ग¥यो । यस्तै सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले रु १२ लाख २० हजार, शरद भेषवाकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडले रु ११ लाख ५० हजार, ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले रु १० लाख ९५ हजार, करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्सले रु नौ लाख ९० हजार तथा दिपेन्द्र ऐरी रणनीतिक खेलाडी रहेको सिवाइसी अत्तरियाले रु नौ लाख खर्च ग¥र्यो ।
यसपटक खुल्ला रुपमा अक्सन गरिएको हो । लोकल ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडी क्लोज लिस्टबाट छनोट गरिएको छ । अक्सनका लागि न्युनतम ३० हजार देखि २ लाख ५० हजारसम्म मुल्य राखेर २ सय ५ खेलाडीले नाम दर्ता गराएका थिए । टी–ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । प्रतियोगिता आगामी माघ २६ गतेदेखि फागुन ११ गतेसम्म धनगढीमा हुनेछ ।