नारायण ढुंगानासिद्धि छेरवाङ, चितवन,, २५ फागुन –सिद्धि छेरवाङका सूर्यचन्द्र चेपाङ धुलाम्मे देखिन्छन् । पढेका छैनन् । बर्सेनि अन्नको अभाव झेल्छन् । चेतनाको अभावका कारण उनी स्वास्थ्य, शिक्षा र सरसफाइबारे अनभिज्ञ छन् ।

उनका छोराछोरीको अनुहार सिङ्गानले लत्पतिएको छ । मुखाभरि घाउ छन् । ‘के गर्ने सर, अन्न त दुई–तीन डोका मकै छ, त्यो सकिएपछि निमेक गर्न जाने हो,’ सूर्यचन्द्रले दुःख पोखे ।
छिमेकी सोमबहादुरकी तीन वर्षीया छोरी विमायाँ चेपाङ नाङ्गैै छिन् । कहिल्यै नधोएको अनुहार छ । उचित सरसफाइको कमीले फोहोरी देखिन्छिन् । उनीहररू जस्ता अधिकांशको अवस्था उही छ, छेरवाङगाउँमा ।
स्थलगतरुपमा चेपाङको अवस्था बुझ्न पुगेका चितवन युवा समूह, अन्तर्राष्ट्रिय समन्वय समिति, प्रवास संयोजक समीर खत्री यस क्षेत्रका चेपाङहरू स्वास्थ्य, शिक्षा र सरसफाइमा निक्कै कमजोर रहेका बताउँछन् ।
जिल्लाको विकट सिद्धि गाविस–९ छेरवाङमा बसोबास गर्ने चेपाङ समुदायको अवस्थाबारे उहाँलगायत चितवनका प्रवासी नेपालीले स्थलगत निरीक्षण गरेका छन् । सञ्चारमाध्यममा उनीहररूको अवस्थाबारेका खबरहरू पटकपटक सार्वजनिक भइरहेको देखेपछि सहयोगका लागि गाउँमै पुगेर स्थलगत अनुगमन गरिएको प्रवास संयोजक खत्री बताउँछन् ।
समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीको नेतृत्वमा रहेको टोलीमा प्रवास संयोजक खत्रीसहित समितिका प्रथम उपाध्यक्ष बुद्धिराज अर्याल, कोषाध्यक्ष सीता ढकाल, सहकोषाध्यक्ष साझाराम विक, चितवन समाज, युएईका उपाध्यक्ष परशुराम घिमिरे, अञ्जु ढकाल, अर्जुन अधिकारी, इन्दिरा सिग्देललगायत सहभागी थिए ।
उनिहरूले सोमवार बिहानदेखि दिनभर चेपाङको घरघर पुगेर अवस्थाबारे जानकारी लिने र केही घरमा लत्ताकपडासमेत वितरण गरेका थिए ।
‘स्वास्थ्य, शिक्षा र सरसफाइ निकै कमजोर भेटियो, अहिलेसम्म करोडौँ रकम गए, बाँड्ने काम मात्रै भएछ’, प्रवास संयोजक समीर खत्रीले भने, ‘अब हामी परिवर्तन हुनेगरी एउटा गाउँमा स्वास्थ्य, शिक्षा र सरसफाइको अभियान चलाउँछौँ ।’
केही समयअघि अखबारमा केपी किरण शर्माले लेख्नुभएको ‘दुःखको पहाड’ भन्ने समाचार पढेपछि विदेशमा बस्ने युवाले चासो देखाएका थिए । त्यसपछि प्रवासी चितवनेले नेपाल आई चेपाङ गाउँमा पुगेर स्थलगत अनुगमन गरेका हुन् ।
चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्ति अधिकारी पहिले त उनीहरुलाई शिक्षित गराउनुपर्ने अति जरुरी देखिएको बताउँछन् । स्वास्थ्य र सरसफाइमा चेतना फैलाउनुपर्ने उनको धारणा छ ।
‘दीर्घकालीन रुपमा एउटा गाउँलाई नै व्यवस्थापन गर्नेगरी योजना चाहिन्छ, हामी सल्लाह गरेर कार्यक्रम गर्छौं, अब केही रकम र सामान्य खाद्यान्न दिएर चेपाङको अवस्था फेरिँदैन,’ अधिकारीले भने ।
उनले लोथर र सिद्धिमा जिविससँग मिलेर अवस्था अध्ययन गरी प्रतिवेदन निकाल्ने तयारीमा समेत रहेको जानकारी दिए । चेपाङ बालबालिकाको संरक्षणमा सक्रिय पत्रकार केपी किरण शर्मा विभिन्न संस्थामार्फत अर्बौं रकम चेपाङलाई खर्चिए पनि उनीहरुलाई सीपमूलक काममा लगानी कमै भएको बताउछन् । त्यसैले आफूले बालबालिकालाई शिक्षा दिएको र त्यसमार्फत गाउँ विकास गराउने लक्ष्य रहेको उनले बताए ।
चेपाङको नाममा देशी तथा विदेशी गैरसरकारी संस्थाले अर्बौं रुपैयाँ रकम खर्च गरेका छन् । तर चितवनको कान्दामा केही रुपान्तरण देखिए पनि र केही स्थानमा बाख्रापालनमा केही सुधार भए पनि अन्य क्षेत्रमा खर्च भएको रकम बालुवामा पानी हाले सरह नै छ । चेपाङ समुदायलाई माछाभन्दा पनि माछा मार्ने जाल दिनुपर्ने स्थानीयवासी सूर्यचन्द्र चेपाङ बताउँछन् ।