सप्तरी, २५ फागुन –दुई दिनअगाडि प्रहरीको गोली लागेर घाइते भएका मधेसी मोर्चाका एक कार्यकर्ताको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधवार मृत्यु भएको छ ।

पेटमा गोली लागेर सो प्रतिष्ठानको आइसियुमा उपचार गराइरहेका सप्तरी मलेठ–२ का २२ वर्षीय वीरेन्द्र महतोको मृत्यु भएको मोर्चाले जनाएको छ । त्यसअघि सोमवार सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक करिडोरमा प्रहरी र मोर्चाबीच भएको झडपमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो ।
मृतक महतोलगायत अहिलेसम्म चारजनाको मृत्यु भइसकेको छ । १२ जनाभन्दा बढी घाइतेको धरानमा उपचार भइरहेको मोर्चाले जनाएको छ ।
नेकपा एमाले को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको सो औद्योगिक क्षेत्रमा भएको जनसभालाई विरोध गर्दा भएको झडपमा हालसम्म चारजनाको मृत्यु र १२ जनाभन्दा बढी घाइते भएका छन् ।