काठमाडौं, २५ फागुन — अमेरिकी जासूसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए)ले संसारभरिका स्मार्टफोन र स्मार्टटिभी ह्याक गरेर मानिसहरूमाथि जासूसी गरिरहेको विकिलिक्सले मंगलवार खुलासा गरेको छ ।

आफ्नो कारवाही गोप्य रूपमा गर्नका लागि सीआईएले ह्याकिङको प्रविधिमा छेडछाड गरेर रुसबाट ह्याक भएको देखाउने गरेको विकिलिक्सले बताएको छ ।
सीआईएले व्यक्तिको निजत्वलाई ध्वस्त पार्न प्रयोग गरेका लगभग सबै साइबर हतियारहरू चोरी भइसकेको र ती अपराधी तथा विदेशी जासूसको हातमा परेको सम्भावना पनि देखाएको छ ।
चोरिएका औजारहरू अमेरिकी सरकारका पूर्व ह्याकर तथा कन्ट्र्याक्टरहरूको हातमा पुगेको र तीमध्ये एकले यी दस्तावेज विकिलिक्सलाई उपलब्ध गराएको उसले दाबी गरेको छ ।
क्यालिफोर्नियाबाट कंग्रेस सदस्य टेड लीउले यससम्बन्धमा तत्कालै कंग्रेसले अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।
सीआईएको गोप्य ह्याकिङ कार्यक्रमका सम्भावित खतराहरू देखाउनका लागि यी दस्तावेजहरू आफूले प्रकाशित गरेको विकिलिक्सले बताएको छ ।
विकिलिक्स पारदर्शितामा विश्वास गर्ने संगठन हो र यसले सीआईएका गोप्य दस्तावेजको ठूलै पुलिन्दा प्रकाशित गर्दै आफ्ना दाबीलाई पुष्टि गरेको छ ।
उता सीआईएले चाहिँ आफ्नो पुरानो नीतिलाई उद्धृत गर्दै प्रकाशित दस्तावेज सत्य भए नभएको सम्बन्धमा टिप्पणी गर्न इन्कार गरेको छ ।
सीएनएनबाट