२४ असार २०८३, बुधबार

यात्रुबाट मनपरी भाडा असुली, स्थानीय सरकार निरीह

पुस २३, २०७५
यात्रुबाट मनपरी भाडा असुली, स्थानीय सरकार निरीह
फाइल फोटो

सुर्खेत – सरकारले दशैंतिहारमा सार्वजनिक गरेको भाडादर विपरीत व्यवसायीले चर्को भाडा दर यात्रुबाट असुल गरिरहेको पाइएको छ ।

सुर्खेतको छिन्चुदेखि गुर्भाकोट नगरपालिकासम्मको २२ किलोमिटरको १ सय रुपैयाँ लिने गरेको पाइएको छ ।

गुर्भाकोटकी शिक्षिका रत्ना योगीले व्यवसायीले यात्रुबाट मनपरी भाडा असुल गरिरहेको बताइन् । ‘सरकारले तोकेको भाडादर अनुसार भाडा तिर्नुपरेको खण्डमा ५७ रुपैयाँ २० पैसा हुन आउँछ,’ उनले भनिन्, ‘तर व्यवसायीले ४२ रुपैयाँ ८० पैसा प्रतिव्यक्ति बढी असुलिरहेका छन् ।’ 

गुर्भाकोटका स्थानीय गोविन्दप्रसाद ढकालले चर्को भाडा दरका कारण कृषक मारमा परेको बताए । ‘पक्की सडक छ, कृषकले उत्पादित सामाग्री बेच्न छिन्चु लैजाँदा प्रतिकट्ठा २ सय र प्रतिव्यक्ति १ सय रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता आइलागेको छ,’ उनले भने, ‘सरकारले किसानलाई उत्पादनमा जोड दिन्छु भन्छ । तर उत्पादित वस्तुलाई बजारसम्म पुर्याउन गाह्रो भइरहेको छ । भाडादर न्यून गर्न स्थानीय सरकारले कदम चाल्न आवश्यक छ ।’

स्थानीय लक्ष्मण भण्डारीले स्थानीय सरकारको लापरवाहीका कारण व्यवसायीले मनपरी भाडा असुल गर्दै आइरहेको आरोप लगाए । ‘कम्तिमा घरआँगनमा भएको स्थानीय सरकारले अनुगमन गर्ने व्यवस्था मिलाउनपथ्र्यो । व्यवसायीलाई नियमानुसार भाडा लिन निर्देशन दिनुपथ्र्यो,’ उनले भने, ‘तर स्थानीय सरकार निद्रामा भएका कारण जनताका समस्या बढ्दै गएका छन् । हरेक क्षेत्रमा मनोमानी बढदै गइरहेको हाम्रो  अनुभव छ ।’

गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले चर्को भाडादरबारे ईलाका प्रहरी कार्यालय र सम्बन्धित व्यवसायीसँग बसेर कुरा टुंग्याउने बताए । ‘हामी जनतालाई व्यवसायीले चर्को भाडादर लिएकोबारे बुझ्ने छौं,’ उनले भने, ‘नियमानुसारको भाडादर कायम गराउन मेरो पहल हुनेछ । केही दिनमै ईलाका प्रहरी कार्यालय, स्थानीय सरोकारवाला र व्यवसायीसँग बसेर भाडादर न्यून गर्ने विषयमा छलफल गरी न्यायसंगत भाडादर तय गर्नेछौं ।’

salt training

कमेन्ट गर्नुहोस्