
धनगढी– तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल मंगलबारदेखि शुरु हुँदै छ । प्रतियोगिता धनगढी रंगशालामा हुनेछ । एन्फाको वर्गीकरणमा ‘क’ स्तरको यस प्रगियोगितामा नेपालका १२ उत्कृष्ट फुटबल टिम सहभागी हुने आयोजक टिम सुदूरपश्चिम–११ ले जनाएको छ ।
उद्घाटन खेल आयोजक टिम सुदूरपश्चिम–११ र मेची नेत्रालय काँकडभिट्टा झापाबीच हुनेछ । माघ ५ सम्म हुने प्रतियोगितामा ए डिभिजन क्लब मनाङ मस्र्याङदी, संकटा, थ्रीस्टार, च्यासल, नेपाल पुलिस, एपीएफको सहभागिता रहने छ ।
विदेशी टिममा दिल्ली एफसी र फेमली क्लब क्यामरुनको सहभागिता रहने जनाइएको छ । मोफसलका मोरङ–११, फुटबल ट्रेनिङ्ग सेन्टर झापा, गोर्खा ब्वाइज रूपन्देहीले प्रतिस्पर्धा गर्नेछन् । विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् ।