१४ असार २०८३, आइतबार

ठोस फोहोर रोक्न जाली जडान : नहर देखियो चिटिक्क !

पुस २५, २०७५
ठोस फोहोर रोक्न जाली जडान : नहर देखियो चिटिक्क !

बुटवल – पानीसँगै आउने ठोस फोहोरको व्यवस्थापनका लागि सोह्र–छत्तीस नहरमा जाली राखिएको छ ।

नहरमा बग्ने फोहोरका कारण किसान पीडित भएपछि तिलोत्तमा नगरपालिकाले समाधानको प्रयासस्वरुप नहरमा जाली राखेको हो । नदी र नहरमा ठोस फोहोर जथाभावी बग्ने समस्या देशभर रहेको छ ।

केही दिनअघि छत्तीस नहरको योगिकुटीमा राखिएको जालीमा फोहोर रोकिन थालेको छ । सोह्र नहरमा पनि यस्तै प्रकारको जाली राखिने नगरपालिकाले जनाएको छ ।

जालीमा रोकिने फोहोरलाई नहरबाटै उठाउने गरिने छ ।  प्रभावकारिताको मूल्यांकनसँगै अन्य स्थानमा पनि जाली राखेर किसानको खेतसम्म पुग्ने गरेको फोहोरलाई नहरबाटै व्यवस्थापन गरिने नगर प्रमुख वासुदेव घिमिरेले बताए ।
रुपन्देहीकै ठूलो सोह्र–छत्तीस नहरबाट तिलोत्तमा नगरपालिकामा सिँचाइ सुविधा पुगेको छ । किसानको आफ्नै व्यवस्थापन र बाहुबलबाट सञ्चालन हुँदै आएको यो दक्षिण एशियाकै नमूना सिँचाइ प्रणाली हो । बढ्दो शहरीकरणसँगै नहर प्रदूषित हुँदै जाँदा नगरपालिकाले जालीको उपाय निकालेको हो । खासगरी बुटवलबाट आउने फोहोरबाट तिलोत्तमाका किसान लामो समयदेखि निकै पीडित छन् । नहर अतिक्रमण पनि उत्तिकै छ ।

नहरबाट पानीसँगै किसानको खेतमा विभिन्न प्रकारका फोहोर पुग्ने गरेका थिए । ‘फोहोर यस्तोसम्म आउँछ कि ढुक्कले खेतमा पस्न पनि सकिँदैन,’ तिलोत्तमाको वडा नम्बर १ का किसान श्रीधर पौडेलले भने, ‘खेतमा सुइँ र सिरिन्जसमेत भेट्टिन्छन् । प्लास्टिकजन्य फोहोर त यतिधेरै आउँछ कि त्यसको कुनै लेखाजोखा नै छैन ।’ प्लास्टिकजन्य फोहोर र कपडाले शाखा कुला ढाकिएका छन् ।

नगरपालिकाले फोहोर रोक्न नहरमा फलामे जाली राखेको हो । जाली नहरको झण्डै आधा उचाइसम्म राखिएको छ । जालीले रोकेको फोहोरलाई समय–समयमा व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । जाली राखेर फोहोर रोक्ने नगरपालिकाको प्रयासलाई किसान तथा जानकारले सकारात्मक रुपमा लिएका छन् ।

तिलोत्तमा–८ ज्योतिनगर निवासी वातावरणविद् युवराज कँडेलले सामाजिक सञ्जालमा जालीमा जम्मा हुने फोहोर निकालेर वर्गीकरण गरेर बिक्री गर्नुपर्ने तथा कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउनुपर्ने उल्लेख गरेका छन् ।

तिलोत्तमा–७ सेमरा निवासी किशोर पन्थीले फोहोर रोक्ने नगरपालिकाको उपाय सकारात्मक रहेको बताए । नहरमा फोहोर बढ्दै गएपछि सरसफाइ अभियान समेत सञ्चालन गरिएको छ । 

‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ भन्ने नाराका साथ तिलोत्तमा नगरपालिकाले नियमित नगर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । सिँचाइ सम्वद्ध संघसंस्थाले पटक–पटक बुटवल उपमहानगरपालिकासँग प्रदूषण नियन्त्रणका विषयमा समन्वय गर्ने प्रयत्न गर्दै आएपनि त्यो सार्थक नहुँदा  किसानकै आग्रहमा नगरपालिकाले जाली राखेको हो । फोहोरका कारण खेतीयोग्य जमिन प्रदूषित हुँदा उत्पादनमा ह्रास आएको किसानको गुनासो छ ।

तिनाउ नदीको पानी आउने नहरमा कन्नेढुंगा र इँटियाभोटमा मुख्य बाँध रहेका छन् । पाल्पाको बायाँ क्षेत्रबाट आएको माडी खोला र दायाँ क्षेत्रको बल्डेङगढीबाट बहँदै आएको कचल खोला मिसिएर पाल्पाको दोभान भएपछि तिनाउ नदी बन्दछ ।

बुटवलसम्म आइपुग्दा तिनाउ नदीमा करीब २ सय खोला, नाला, खोल्सा, खहरे र मूल मिसिने बताइन्छ । 

यो नदी हिउँ पग्लेर हिमनदीको रूपमा आइपुगेको नभई मूल फुटेर बहेका ससाना मुहान, खोल्साखोल्सी र खोलाहरूको समुच्च रूप हो । आजभन्दा करीब डेढ सय वर्षभन्दा अघि खनिएको कुलो कालान्तरमा स्रोह–छत्तीस मौजामा वितरीत भएकाले हालसम्म पनि प्रणालीको नाम ‘सोह्र–छत्तीस मौजा सिँचाइ प्रणाली’ भनेर चिनिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्