काठमाडौं –नेकपा सांसद रामनारायण बिडारीले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको अनुसन्धान प्रभावित गर्नेगरी प्रमाण नष्ट गर्ने प्रहरीमाथि कारवाही गर्न माग गरेका छन् ।
राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विषेश समयमा बोल्दै वरिष्ठ अधिवक्ता समेत रहेका बिडारीले निरापराधिलाई मुद्दा लगाउन खोज्ने र प्रमाण नष्ट गर्नेहरू अपराधि भएको बताए ।
‘निर्मला पन्त, विचारी हाम्री चेली जसको बलात्कार र हत्या भयो त्यसको छानबिन गर्नुपर्ने, तर प्रहरी निर्दोषलाई मुद्दा लगाउन खोज्छ, प्रमाण नष्ट गर्छ, त्यसलाई आजको दिनसम्म पनि फौजदारी अभियोगमा प्रमाण नष्ट गर्ने अभियुक्तलाई गर्न सक्ने कानूनी कारवाही किन सरकार गर्दैन ? त्यसलाई कानूनी कारवाहीमा ल्याएपछि बल्ल मुद्दाको अनुसन्धान शुरू हुन्छ । नत्र त्यस्ताले अप्ठ्यारो पारिराखेका हुन्छन्,’ बिडारीले भने ।
निर्मला पन्तको अनुसन्धानमा भएको ढिलाइको चर्चा गर्न उनले सर्वोच्चका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्याको प्रसंग कोट्ट्याए ।
‘न्यायाधीश बम हुनुहुन्थ्यो, सर्वोच्च अदालतको न्यायाधीश, दिउँसै शहर काठमाडौंमा ड्याङ्ग गोली हानेर पक्लक्क मारिदिए । पत्ता लगाउन कति महिना लाग्यो त्यो सरकारलाई ? त्यो बेला कुन सरकार थियो थाहा भएन । तर कति महिना लाग्यो, कतिवर्ष लाग्यो ? कोहीकोही मुद्दा अनुसन्धनान गर्न केही वर्ष लाग्ला तर निरापराधिलाई मुद्दा लगाउन पाइन्न । प्रमाण नष्ट गर्ने अभियुक्तहरू चाहिँ बरु अपराधि हुन् । तिनीहरूलाई कठघरामा ल्याउनुपर्ने कुरामा आजसम्म सरकारले त्यो काम गरेको छैन,‘ उनले भने ।
आँखाले खाना खान मिल्दैन
उनले संसदीय समितिले कसैलाई भ्रष्टाचारी र अपराधि ठहर गर्न नसक्ने बताए । ‘उल्का भोक लाग्यो भनेर आँखाले खाना खान मिल्छ ? संसद्ले अनुसन्धान गर्न पाइन्छ ? अदालतले ठहर नगरेको मान्छेलाई अपराधि भन्न पाइन्छ ?’ कांग्रेस सांसदहरूले विमान खरिदमा पर्यटन मन्त्रीको राजीनामा गरेपछि बिडारीले प्रश्न गरे ।