०२ साउन २०८३, शनिबार

'पैसा र रक्सीले परनिर्भर बने राउटे'

पुस २७, २०७५
'पैसा र रक्सीले परनिर्भर बने राउटे'
फाइल तस्वीर

सुर्खेत– दशकौंदेखि कन्दमुल र जंगली जनावरको शिकार तथा काठका भाँडाकुँडासँग अन्नपात साटफेर गरी आत्मनिर्भर लोपोन्मुख राउटे समुदाय पछिल्लो समय परनिर्भर बन्दै गएको छ । सरकारी तथा विभिन्न गैरसरकारी संघ–संस्थाले राउटेका नाममा लाखौं रकम खर्च गर्दा उनीहरूमा मागेरै खाने बानीको विकास हुन थालेको छ ।

सरकार र विभिन्न गैरसरकारी संघ–संस्थाले राउटेहरूलाई परनिर्भर बनाउन भूमिका खेलेको होटेल व्यवसायी संघका निर्वतमान अध्यक्ष तर्कबहादुर शाही बताउँछन् । राउटेलाई पैसा बाँड्ने काम तत्काल बन्द गर्नुपर्ने उनको सुझाव छ । 

‘राउटे समुदायलाई कसैले पनि पैसा दिनु हुँदैन,’ उनले भने, ‘पैसा दिने बानी पारेकै कारण अहिले उनीहरू पैसा माग्ने, मदिरा सेवन गर्ने अवस्थामा आइसकेका छन् ।’
बरु सरकारले उनीहरूलाई कुनै निश्चित ठाउँमा बसाल्नुपर्ने उनको भनाइ छ । ‘राउटेलाई कुनै वन क्षेत्र दिउँ । घरवास बनाइदिउँ । विद्यालय बनाइदिउँ । त्यस्तो गर्न सकेको खण्डमा देशी–विदेशी पर्यटकहरू त्यही हेर्न भनेर आउँछन्,’ शाहीको सुझाव छ ।

राउटेलाई दाल, चामल, पैसा बाँड्ने काम तत्काल बन्द गर्नुपर्ने उनको भनाइ छ । ‘उनीहरूको सीप अनुसारको काम दिनुपर्छ,’ शाही भन्छन्, ‘आवश्यक पर्ने चिज मात्रै सरकारले उपलब्ध गराउनु पर्ने मैले देखेको छु । नभए राउटे समुदाय मदिराकै कारण सकिएर जान बेर छैन ।’

राउटेको नाममा लाखौं खर्च

गुराँस गाउँपालिका दैलेखले स्थायी नागरिक बनाउने भन्दै ३ लाख रुपैँया खर्चिएको थियो । गाउँपालिकाले १ सय ५१ थान स्थायी परिचय पत्र बनाएर उनीहरूलाई सुम्पिएको थियो । राउटेलाई गुराँसकै स्थानीय नागरिक बनाएर सामाजिक सुरक्षाको रकम यहीँबाट दिने भन्दै १५१ वटा स्थायी परिचय पत्र वितरण गरेको गाउँपालिका खेमराज ओली स्वीकार्छन् । त्यसबेला झण्डै ३ लाख रुपैयाँ खर्च गरेको उनको भनाइ छ ।

गाउँपालिकाले राउटेकै लागि भनेर चालू आर्थिक वर्षमा १० लाख विनियोजन गरेको अध्यक्ष ओलीको भनाइ छ । उक्त रकममध्ये ६ महिनामा २ लाख खर्च भएको उनले बताए । 

राउटेहरू गुराँस गाउँपालिकामा पाएको स्थायी परिचय पत्र गुराँसकै जंगलमा मिल्काएर सुर्खेत झरेका छन् । उत्तिबेला नै शिकार नमरेको भन्दै जंगलमा लगेर फालिदिएको राउटेका मुखिया हरिबहादुर शाहीले बताए । ‘परिचय पत्र घरमा राखेर बाँदर मरेन, के गर्ने ? जंगलमा लगेर फालेपछि कहिले काहीँ शिकार मर्छ ।’ परिचय पत्र लगाएर खान लाउन नदिने भन्दै सबैले उत्तिबेला जंगलमा लगेर फालिदिएको बताए ।   

राउटेको उत्थान र जीवनशैलीमा सुधार गर्ने भन्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि ८ लाख रुपैयाँ विनियोजन गरेको थियो । सोही रकमबाट केही दिनअघि मात्रै सामाजिक विकास मन्त्रालयले झण्डै ४ लाख स्वाहा पारेको छ । राउटेलाई न्यानो कपडा वितरणमै ३ लाख ८८ हजार १ सय रुपैयाँ खर्चेको मन्त्रलयले जनाएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत महिला विकास शाखाका अधिकृत अनिता ज्ञवालीका अनुसार राउटेलाई न्यानो कपडा वितरणका लागि ३ लाख ८८ हजार १ सय रुपैयाँ खर्च भएको छ । मन्त्रालयले राउटे उत्थान प्रतिष्ठान केन्द्रलाई रकम दिएको र जिन्सी सामान प्रतिष्ठानले नै व्यवस्था गरेको बताए । प्रतिष्ठानले राउटेका लागि न्यानो कपडा कोट काठमाडौंबाट ल्याएको हो । 

के को कति मूल्य

मन्त्रालयले वितरण गरेको ५० वटा कोटको मूल्य ३५ सयका दरले एक लाख ७५ हजार हो । राउटेका साना बालबालिकाका लागि हाइनेक किन्न साढे चार सयका दरले नौ हजार, ५४ जना महिलालाई पछ्यौरा किन्न २४ हजार तीन सय रकम खर्च भएको छ । यस्तै राउटे महिलालाई ६ मिटरका दरले कपडा किन्दा मन्त्रालयको एक लाख तेह्र हजार चार सय रकम खर्च भएको अधिकृत ज्ञवालीले जानकारी दिइन् । १२४ जना राउटेका लागि एक–एक जोर जुत्ता किन्न ४९ हजार ६००, ढुवानी बापत दश हजार खर्च भएको उनको भनाइ छ ।

प्रतिष्ठानका दुई जना प्रतिनिधि काठमाडौंबाट सुर्खेत आउँदा ६८०० भाडासहित प्रतिष्ठानले मन्त्रालयमा जम्मा रु ३ लाख ८८ हजार एक सय खर्च भएको विवरण बुझाएको छ । यति मात्रै होइन, प्रतिष्ठानले संस्थाबाट ३५ हजार बराबरको सहयोग गरेको लिस्ट मन्त्रालयलाई बुझाएको अधिकृत ज्ञवालीले जानकारी दिइन् ।

राउटेको उत्थानका नाममा विभिन्न एनजीओ ÷आईएनजीओ सक्रिय छन् । अहिले पनि राउटेकै हितमा काम गर्ने भन्दै दुईवटा संस्था सक्रिय छन्  । राउटे उत्थान प्रतिष्ठान केन्द्र र सामाजिक सेवा केन्द्र (सोसेक) संस्था सक्रिय छन् । राउटेका लागि यी संस्थाले पनि लाखौँ रकम खर्चिएका छन् । सोसेकले अहिले पनि राउटेको शिक्षा, स्वास्थ्य लगाएतको क्षेत्रमा तिन जना कर्मचारी खटाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्