०५ साउन २०८३, मंगलबार

पानी पिउन अल्छी, मृगौलालाई सास्ती

कात्तिक २०, २०७४
पानी पिउन अल्छी, मृगौलालाई सास्ती
कल्पना पौडेल
काठमाडौँ, २५ फागुन – ‘बाहिर त कहाँ पानी पिउनु पटकपटक शौचालय जानुपर्छ, म त घरमा मात्र पानी पिउँछु’ यदि हामीमध्ये कसैले यस्तो बानी अपनाएका छौँ भने ख्याल राखौँ –स्वयंले आफ्नै मृगौला बिगार्दै छौँ ।
पछिल्लो समय आम्दानीका लागि विदेशिका युवाको मृगौलामा समस्या देखिएपछि वर्षदिन नबित्दै स्वदेश फर्किनु परेको घटना सार्वजनिक हुन थालेको छ । जाँदा चिकित्सकको प्रतिवेदन राम्रो आएपनि खाडीमुलुकमा पुगेपछि त्यहाँ हुने जलवियोजनका कारण मृगौलामा समस्या देखिएको विभिन्न अनुसन्धानले देखाएका छन् ।

खाडीमुलुकमा गएका युवा लामो समयसम्म काम गर्ने, आवश्यक मात्रामा पानी नपिउने, शरीरको थकाइ/दुखाइबाट छुटकारा पाउन पेनकिलर (दुखाई कम गर्ने औषधि) खाने र अत्याधिक मासु सेवन गर्ने गरेकाले धेरैको मृगौलामा समस्या देखिएको राष्ट्रिय मृगौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिराम काफ्ले बताउँछन् ।

शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मृगौलाको मुख्य काम हो। यसबाहेक मृगौलाले हर्मोन पैदा गर्छ । रगत बन्नका लागि आवश्यक हर्मोन पनि यसले बनाउँछ । शरीरको आन्तरिक वातावरण मिलाउने काम मृगौला र फोक्सोको हो । हामीले खाएको खानाबाट आवश्यक पोषण लिने र नचाहिने तत्व फाल्ने काम पनि मृगौलाले गर्छ ।

तर, पर्याप्त पानी नपिउँदा मृगौलाले काम गर्न छोडेकाले नेपाल फर्कनुपर्ने अवस्था बढ्न थालेको छ । पानीमात्र होइन खानामा आएको परिवर्तनले मोटोपनले पनि मृगौला खराबीको जोखिम बढाएको छ ।

मोटोपनले पनि मृगौला खराब गर्ने भएकाले खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने सम्बद्ध चिकित्सकको भनाइ छ । अनियन्त्रित खानपान र व्यायामको कमीका कारण मोटोपन बढ्दै गएको हो। त्यसरी मोटोपन हुनु मृगौलामा समस्या हुने सङ्केत बन्ने सम्भावना रहन्छ ।

त्रिवि शिक्षण अस्पतालका मृगौला रोग विशेषज्ञ डा. दिव्यसिंह ठकुरी मधुमेह, र उच्च रक्तचापका बिरामीमा पनि मृगौलामा समस्या बढी देखिने बताउँछन् ।

यस्ता कारणले मात्र पनि मृगौलामा खराबी नदेखिने भएकाले बेलाबेलामा पिसाब र रगत जाँच गरी मृगौलाको अवस्थाबारे थाहा पाइ राख्नुपर्नेमा उनी जोड दिन्छन् ।

चौबिस घन्टामा कम्तीमा दुई लिटर पिसाब फेर्नु स्वास्थ्यका लागि फाइदाजनक हुने चिकित्सकहरू बताउँछन् । तर, मृगौलामा कुनै समस्या भए पिसाब कम हँदै जान्छ र यसको रङ पनि फरक हुन्छ । त्यस्तै, पिसाबमा फिंज देखिने, शरिर सुनिने, श्वास्प्रस्वास गर्न अप्ठ्यरो हुने, रक्तचाप बढ्ने, खानामा रुची घट्दै जाने तथा खानै मन नलाग्ने समस्या पनि मृगौला खराबीका कारण देखिन्छ । यीमध्ये कुनै पनि समस्या देखिए तुरुन्त स्वास्थ्य परिक्षण गराउनुपर्ने चिकित्सकहरू बताउँछन् ।

नेपालमा १२ प्रतिशत मानिसलाई मधुमेह भएको तथ्याङ्क छ । जसमध्ये ३५ देखि ४० प्रतिशतको मृगौला खराब हुन्छ । रक्तचाप भएका १५ देखि २० प्रतिशतको पनि मृगौला खराब हुने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।

डा. ठकुरीका अनुसार नेपालमा प्रत्येक वर्ष करिब तीन हजार अन्तिम अवस्थाका मृगौलाका नयाँ रोगी थपिने गरेको र त्यस्तो रोगी डायलासिस वा मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका हुन्छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक १० मध्ये एक जनालाई कुनै न कुनै प्रकारको मृगौलासम्बन्धी समस्या हुन्छ ।

तसर्थ मृगौला स्वस्थ राख्न सन्तुलित खानपान र पर्याप्त पानी पिउनुका साथै व्यायाम गरेर शरीरलाई सक्रिय राख्नु पर्नेमा उनको सुझाव छ । समयमै ध्यान पु¥याउन सके सबै मृगौला रोग निको हुने हुन्छ ।

सरकारले मृगौला रोगीका लागि डायलासिस सेवा निःशुल्क गरेको छ ।

मृगौलाको उपचार महँगो भएकाले नेपालीले सहज रुपमा उपचार पाउन सकून भनेर डायलासिस जस्तै आगामी वर्षदेखि मृगौला प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरिरहेको छ ।

हाल नेपालका ४३ सरकारी तथा निजी अस्पतालबाट डायलासिस सेवा तथा वीर, त्रिवि शिक्षण अस्पताल, मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृगौला प्रत्यारोपण सेवा उपलब्ध छ ।

सन् २००६ बाट विश्वमा हरेक वर्षको मार्चको दोस्रो बिहीबार विश्व मृगौला दिवस मनाउन थालिएको हो । यस वर्ष पनि मृगौला रोग र मोटोपन ‘स्वस्थ मृगौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदै छ ।

salt training

कमेन्ट गर्नुहोस्