
विराटनगर -झापा, सुनसरी र मोरङ जिल्लामा छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
झापाको कन्काई नगरपालिका- ३ टप्पु चोकमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मे ५ प ९१९८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर भएकाे दुर्घटनामा परी मोटरसाइकलमा सवार कन्काइ नगरपालिका- ३ बस्ने २१ वर्षीइ हप्पन मुर्मुको घटनास्थलमै मृत्यु भएको हो ।
त्यसैगरी सुनसरीको दुहबी नगरपालिका- ४ मलहट्टीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १९ प २४४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बूढी पुलमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार चालक दुहबी नगरपालिका- ९ बस्ने वर्ष २२ को अजय चौधरी, पछाडि सवार वर्ष २० को जोगनारायण चौधरी र मोरङ बुढीगंगा गाउँपालिका- ३ बस्ने वर्ष २५ को उमेश थान्दार घाइते भएका थिए ।
घइतेमध्ये थान्दारलाई थप उपचारको लागि विराट नर्सिङहोम लगिएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
यस्तै मोरङको धनपालथान गाउँपालिका- ३ भलुवा खोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
भित्री सडक खण्डमा खेतमा सिँचाइ गर्ने मेसिन बोकेर जाँदै गरेको को. २ त. ४८६५ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी ट्याक्टरका चालक भारत अररिया कुवाडी गाउँ बस्ने वर्ष ४० को अशोक सरदारको घटनास्थलमा नै मुत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।