
काठमाडौं– एकीकरणको डेढ वर्ष नबित्दै विवेकशील साझा पार्टी विभाजित भएकोछ । शुक्रबार उज्ज्वल थापा नेतृत्वको पूर्वविवेकशीलबाट केन्द्रीय सदस्य बनेका १६ जनाले निर्वाचन आयोगमा छुट्टै दल दर्ताको निवेदन दिएका छन् ।
थापा नेतृत्वको विवेकशील नेपाली र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबीच २०७४ साउन ११ गते एकीकरण भएको थियो । ‘हामीले समाज बदल्न भनेर राजनीति थालेका थियौं तर संयुक्त पार्टीको नेतृत्वले त्यसलाई पूरा गर्ने छाँट ल्याएन,’ विवेकशीलका नेता पुकार बमले भने, ‘त्यसैले बाध्य भएर अलग भएका छौं ।’
विवेकशील पक्षधर रञ्जु न्यौपाने (दर्शना), साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुषा थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्दनारायण तिमिल्सिना, रमेश पौड्याल, शशिविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी र अर्जुनसिंह ठकुरी थापा समूहमा आएका छन् । मश्रले विधानविपरीत काम गरेको र पुरानै राजनीतिक चरित्र पछ्याउँदै आफूखुसी केन्द्रीय सदस्य बनाउन थालेको आरोप थापा पक्षको छ ।
थापापक्षको नयाँ दल दर्ताको आवेदनले आश्चर्यचकित भएको संयोजक रवीन्द्र मिश्रले बताएका छन् । शुक्रबार साँझ ट्विटमार्फत उनले पार्टीका सबै प्रदेश र जिल्ला संयोजक आफ्नो काममा क्रियाशील रहेको दाबी गरेका छन् । पार्टी प्रवक्ता सूर्यराज आचार्यले भने, ‘पार्टीभित्र नीतिगत मतभेदबारे कुनै छलफल भएको छैन । उज्ज्वलजीले आफ्नो समीक्षा पार्टीमा नबुझाई सार्वजनिक गर्नुभएको हो । हामीले यसबारे छलफल गर्न ३० गते केन्द्रीय समितिको बैठक बोलाएका बेला अचानक उहाँले यस्तो कदम चाल्नुभयो,’ उनले भने, ‘विग्रहमै जानुपर्ने मुद्दाहरूमा छलफलमै नआई यो अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण छ ।, कान्तिपुरमा खबर छ ।
नेविसंघ अस्तव्यस्त
कांग्रेसमा नेता जन्माउने ‘नर्सरी’ मानिने नेविसंघ महाधिवेशन हुन नसकेपछि अस्तव्यस्त बन्न पुगेको छ । दुई पटकसम्म तिथि तोकिए पनि महाधिवेशन हुन नसकेको संघका गतिविधि समानान्तर रूपमा चल्दै आएका छन् ।
दोस्रोपटक पुस २८ मा तोकिएको महाधिवेशन नहुने निश्चित भएपछि उपाध्यक्षद्वय पुष्पा शाही, विकास केसी, महामन्त्री सरोज थापासहित पदाधिकारी तथा केन्द्रीय सदस्य गरी एक दर्जन बढीले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । संघको कार्यकाल भदौ २ मै सकिएकामा महाधिवेशन गर्न पहिलोपटक तीन महिनाको अवधि थपिएको थियो ।
कात्तिक २८ बाट सुरु हुने गरी अधिवेशनको तालिका सार्वजनिक भयो । तर अधिवेशन हुन सकेन । पुरानो विधानमा तीन महिनामा महाधिवेशन गराउन नसके स्वतः विघटन हुने प्रावधान थियो ।, कान्तिपुरमा खबर छ ।
समायोजनका लागि आवेदकको संख्या वृद्धि
कर्मचारी समायोजनको मिति सकिन लाग्दा समायोजनका लागि फारम भर्नेको संख्या बढेको छ । पहिले दैनिक चार हजारको संख्यामा फारम भर्नेमा अहिले दैनिक आठ हजारसम्म कर्मचारीले फाराम भर्ने गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिइन् ।
उनका अनुसार बिहीबारबाट संघ, प्रदेश र स्थानीय तीनै तहमा फाराम भर्नेको संख्यामा दोब्वर वृद्धि भएको छ । अहिलेसम्म करीब ३६ हजार ९६७ कर्मचारीले समायोजन रोजिसकेका छन् भने करीब ५६ हजार ५०० कर्मचारीले समायोजनका लागि अनलाइन फारम अभिलेखन गरिसकेका छन् । मन्त्रालयले यही पुस ११ गते कर्मचारीलाई २१ दिने सूचना निकाल्दै समायोजनको लागि अनलाइन आवेदन फाराम भर्न आह्वान गरेको थियो ।
जग्गाको कित्ताकाट खुकुलो
सरकारले जग्गाको कित्ताकाटलाई खुकुलो बनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको शुक्रबार भएको पत्रकार सम्मेलनमा मन्त्री पद्मा अर्यालले नागरिकका व्यावहारिक समस्या सुल्झाउन कित्ताकाट खुकुलो बनाइएको जानकारी दिएन् ।
सरकारले २०७४ साउनदेखि जग्गाको कित्ताकाट रोकेको थियो । ‘अंशबण्डा लगायतका व्यावहारिक समस्या देखिएकाले कित्ताकाट गर्न दिन नापी विभाग लगायतलाई निर्देशन गरिएको छ,’ मन्त्री अर्यालले भनिन्, ‘तर खेतीयोग्य जमिन घडेरी बनाउन कित्ताकाट गर्न भने रोक लागेकै छ ।’ स्थानीय तहको सिफारिसमा मात्र जग्गाको कित्ताकाट हुने भएकाले जथाभावी नहुने मन्त्री अर्यालको दाबी छ ।
दश वर्ष नेतृत्व गर्ने इच्छा छः प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्तिमा अबको १० वर्ष विकास र समृद्धिको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । गोरखाको आरुघाट शुक्रबार आयोजित कार्यक्रममा उनले आफ्नो चाहनामा जनताको साथ रहने अपेक्षा पनि व्यक्त गरे । नेकपामा दुई अध्यक्ष रहेको विषयमा बाहिर आएका चर्चाका बारेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाएको दुई पाइलटको सवालमा अध्यक्ष प्रचण्डले बाहिर आए जस्तो कुनै विवाद र समस्या नरहेको दाबी गरे ।
प्रदेश नं ५ का लेखा समिति सभापतिद्वारा गाडी फिर्ता
प्रदेश नं ५ को सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन् । उनले सचिवालयको जिन्सी शाखा प्रमुख कृष्ण गौतमलाई लु १ झ ४४१ नं को गाडीको साँचो फिर्ता गरेका हुन् । केही दिनयतादेखि गाडी खरीदमा अनियमितता भएको भन्दै समाचार बाहिर आएको थियो ।
ठेउलाको प्रकोपबाट विद्यालय बन्द
सिन्धुपाल्चोकको चौतारा साँगाचोक नगरपालिका–१४ स्थित डडुवा भवानी शङ्कर माविका छात्रछात्रा ठेउला रोगबाट ग्रसित भएपछि पाँच दिनको लागि विद्यालय बन्द गरिएको छ । गत मङ्गलबार चार विद्यार्थीमा देखा परेको सो रोगले हाल दुई दर्जन बढी छात्रछात्रा बिरामी परेकाले चिकित्सकको सल्लाहअनुसार सङ्क्रमण हुन नदिन आगामी माघ २ गतेसम्म विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक बद्री नेपालले जानकारी दिए ।
शुरुमा सामान्य ज्वर आउने, शरीरमा बिबिरा देखा पर्ने लक्षण रहेको सरुवा रोग भएकाले सङ्क्रमण हुन नदिन चिकित्सकका सुझावअनुसार व्यवस्थापन समिति, जनप्रतिनिधि र अभिभावकको भेलाले शुक्रबारदेखि विद्यालय बन्द गरिएको प्रअ नेपालले बताए ।
झापा फाइनलमा प्रवेश
पाँचथरको फिदिममा जारी १० औँ अन्तर्राष्ट्रिय आमन्त्रण रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सरस्वती युथ क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दे अन्तिम दुईको यात्रा तय गरेको हो ।
झापालाई जिताउन क्याप्टेन कर्ण लिम्बूले खेलको ५३ आँै मिनेटमा गरेको गोल निर्णायक बन्यो । प्रतियोगिताअन्तर्गत शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र रोयल एफसी दार्जिलिङबीच प्रतिस्पर्धा हुनेछ ।