
काठमाडौं– त्रिभुवन विश्वविद्यालयको जग्गा ओगटेका प्राध्यापक र कर्मचारीले त्यसलाई आफूखुसी भाडामा लगाएर कमाइको थलो बनाएका छन् । नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालयको जग्गा मनपरी भाडामा लगाएका हुन् ।
नेपाल प्राध्यापक संघले भाडाबापत मासिक २ लाख रुपैयाँभन्दा बढी कमाइरहेको छ । कर्मचारी संघले १ लाख र त्रिवि प्राध्यापक संघले १ लाख २५ हजार रुपैयाँ असुल्छन् । यी कुनै पनि रकम विश्वविद्यालयको खातामा पुग्दैन ।
भाडाको आम्दानी पारदर्शी नरहेको कर्मचारी र प्राध्यापक बताउँछन् । कर्मचारी संघका पदाधिकारीले न्यून रकममा भाडा लगाएर अनियमितता गरेको कर्मचारीको आरोप छ । प्राध्यापक संघले पनि ठेक्कामा ‘साँठगाँठ’ गर्ने गरेको आरोप छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा ४ अनुसार अधिग्रहण गरिएको जग्गा कर्मचारी, मजदुर बस्ने घर बनाउन प्रयोग गर्न सकिन्छ ।
तर, यहाँ संघका सीमित पदाधिकारीले त्यसलाई व्यापारिक स्वार्थमा प्रयोग गरिरहेका छन् । बल्खुबाट चोभारतर्फ जाँदा त्रिवि गेटअगाडि रहेको जग्गा र सटर कर्मचारी संघ र प्रँध्यापक संघले व्यवसायीलाई भाडामा दिएका हुन् । कर्मचारी संघले विश्वविद्यालयको जग्गामा पेट्रोल पम्प राख्न दिएको छ ।, कान्तिपुरमा खबर छ ।
पार्टीबाट छुट्टिएर गएकालाई फर्कन विवेकशील साझाको आव्हान
विवेकशील साझा पार्टीले पार्टीबाट छुट्टिएर गएकाहरुलाई फर्कन आह्वान गरेको छ । पार्टी कार्यालय बखुण्डोलमा शनिबार पत्रकार सम्मेलन गरेर विवेकशील साझाका संयोजक रविन्द्र मिश्रले पार्टीबाट छुट्टीएर गएका नेताहरुलाई पार्टीमा फर्कन आह्वान गरेका हुन् । संयोजक उज्ज्वल थापा लगायतका नेताहरुलाई पार्टीमा फर्कन उनले आह्वान गरे ।
वैकल्पिक शक्ति निर्माणका क्रममा आफूहरु नयाँ र अपरिपक्क भएका कारण कमजोरीहरु हुन सक्ने भन्दै मिश्रले त्यस्ता मतभेदलाई वार्ताबाटै समाधान गर्न सकिने बताए । ३७ सदस्यीय केन्द्रीय समिति मध्येका १६ जनाले शुक्रबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपछि उत्पन्न परिस्थितिका बारेमा जानकारी दिन पत्रकार सम्मेलन भएको हो । संयोजक मिश्रले कुनै आग्रह र पूर्वाग्रह नभएकोले देश बनाउन सँगै हिँड्नुपर्ने बताए ।
‘साठी हजार कर्मचारी समायोजनका लागि तयार’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साठी हजार कर्मचारी समायोजनका लागि तयार भएका बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ७० प्रतिशत कर्मचारी स्थानीय तहमा जाने सहमति कायम गरेको जानकारी दिए ।
मन्त्री पण्डितले माघ २ गतेसम्म समायोजनको सीमा रहेको र त्यसको २१ दिनभित्र तोकिएको क्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरिने प्रष्ट पारे । संघ, प्रदेश र स्थानीय निकायमा गरी एक लाख ३८ हजार कर्मचारीको दरबन्दी रहेको र आवश्यक अपुग कर्मचारी संघीय लोक सेवा आयोगले छोटो प्रक्रियाबाट पदपूर्ति गर्ने मन्त्री पण्डितले जानकारी दिए ।
बाँड्दाबाँड्दै सकिन्छ धरौट
विदेशमा नेपाली श्रमिक पठाउँदा म्यानपावर व्यवसायीले राख्ने धरौटी रकमबाट पीडितलाई क्षतिपूर्ति दिनै पुग्दैन । म्यानपावरले करार गरेको सेवासर्त पूरा नभएर फर्किएका र उच्च लागत शुल्क लिएर उजुरी दिने पीडितलाई वैदेशिक रोजगार विभागले धरौटीबाट क्षतिपूर्ति दिन थालेको छ ।
पीडितको संख्या बढदै गएकाले थोरै व्यक्तिले मात्र क्षतिपूर्ति पाउने गरेका छन् । युरो नेपालद्वारा टर्की पठाइएका श्रमिकहरू दुईवर्षे करारपत्र नसक्दै फर्किन थालेका छन् । युरोले टर्कीमा झन्डै ९ सय श्रमिक पठाएको थियो । तीमध्ये तीन सय जना फिर्ता भइसकेका छन् ।
‘पहिलो पटक ९ जनाले उजुरी हालेका थिए, छानबिन गरी २७ लाख रुपैयाँ दिलाइयो,’ विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले भने, ‘म्यानपावरको धरौटीबाट क्षतिपूर्ति दिइएको हो ।’ सेवासर्त पूरा नभएको र उच्च लागत शुल्क लिएको भन्दै पीडितले युरो नेपालविरुद्ध विभागमा उजुरी दिएका थिए ।
झन्डै ४० भन्दा बढीले लिखित उजुरी हालेका थिए । ९ जनाले मात्रै क्षतिपूर्ति पाए । युरोविरुद्ध उजुरी दिनेको संख्या दैनिकजसो बढिरहेको छ । उनीहरूलाई तुरुन्तै क्षतिपूर्ति दिइहाल्न विभागसमक्ष दोस्रो विकल्प मात्रै छ । चापागाईं भन्छन्, ‘बाँकीलाई रकम दिन म्यानपावर र सञ्चालकको जायजेथा बेच्नुपर्छ । यसको प्रक्रियामा छौं ।’
म्यानपावर सञ्चालकले पीडितलाई दिनुपर्ने रकम जुटाउन सके मात्रै जयाजेथा बेचबिखन गर्नुपर्दैन । युरोका सञ्चालकहरू फरार छन् । विभाग उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारीमा छ । क्षतिपूर्ति दाबी गरिरहेका पीडित भन्छन्, ‘हामीले कति समय पर्खनुपर्ने हो?’, कान्तिपुरमा खबर छ ।
तरुण दलले आन्दोलन गर्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । सरकारको गैरकानुनी र अलोकतान्त्रिक रबैयाविरूद्ध माघ ८ गतेदेखि १४ गतेसम्म सातै प्रदेशका केन्द्रमा विरोध सभा र र्याली गर्ने तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । वाइडबडी जहाज खरिदमा भएको अनियमितता, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा सरकारले दोषी पहिचान गर्न नसक्नु, भ्रष्टाचार रोक्न नसकेको भन्दै तरुण दल विरोधमा उत्रन लागेको बिज्ञप्तीमा उल्लेख छ ।
प्रधानसेनापति थापालाई मनार्थ महारथीको दज्र्यानी
भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति थापालाई शनिबार नयाँदिल्लीस्थित राष्ट्रपतिभवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो चिन्ह प्रदान गरेको नेपाली सेनाले जनाएको छ । नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि सो दर्जा दिने प्रचलन रहिआएको छ ।
दुई प्रदेशमा मेडिकल कलेज खोल्ने गरी विधेयक
सरकारले आफ्नै लगानीमा दुई प्रदेशमा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव ल्याएको छ । संसद्मा प्रस्तुत गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा स्थापना गर्ने प्रस्ताव ल्याएको हो ।
व्यवस्थापिका–संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमा अबका पाँच वर्षभित्र प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज स्थापना प्रस्ताव ल्याइएको पत्रकार भेटघाट कार्यक्रममा समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए । दुई प्रदेशमा मेडिकल कलेज खुले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज हुनेछन् ।
सुन तस्करीमा वडाध्यक्ष
वडाध्यक्ष नै सुन तस्करीमा संलग्न पाइएका छन् । सशस्त्र प्रहरीले शुक्रबार राति सिरहाको लहान नगरपालिका–१९ का वडाध्यक्ष मा. हकिमसहित ६ जनालाई पक्राउ गरको छ । सशस्त्र प्रहरी उपरीक्षक सोमबहादुर गुरुङको टोलीले घुर्मीघाटबाट नियन्त्रणमा लिइएका उनीहरूका साथबाट पौने दुई किलोग्राम काँचो सुन बरामद गरको छ ।
जिल्लामा यत्ति ठूलो परिमाणमा अवैध सुन बरामद भएको पहिलो पटक हो । घुर्मीघाट मिर्चैया र गोलबजार नगरपालिकाको सीमा क्षेत्र हो । पक्राउ पर्ने अन्यमा लहान–१९ का मोहम्मद रियाज राइन, मो. अमिरुल, मो. कैयुम राइन, मो. रहमान र सप्तरीको खडग नगरपालिका–३ का मो. अफोज छन् ।
उनीहरूबाट ६ थान बाला र मोबाइल, तीन थान सुनको बेरिएको पाता, ३४ हजार ५ सय रुपैयाँ नगद बरामद भएको छ । प्रहरीले उनीहरूले प्रयोग गरको बीआर ३२ पीए ४६४४ नम्बरको सेतो रंगको स्कार्पियो पनि नियन्त्रणमा लिएको छ ।, कान्तिपुरमा खबर छ ।
आवश्यक कानून बनाउन सुधार गृह सञ्चालकको माग
सुधार गृह सञ्चालहरुले आवश्यक कानून बनाउन माग गर्दै आफूहरुलाई सरकारले असहयोग गरेको गुनासो गरेका छन् । लागुपदार्थ दुव्र्यसनमा फसेकालाई सुधार गर्ने प्रयास गरिरहेको सन्दर्भमा प्रशासनले आफूहरुमाथि अनावश्यक शङ्का गरेर दुःख दिने गरेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।
रिकभरी सोसाइटी अफ नेपालद्वारा शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सुधार गृह सञ्चालकले लागु पदार्थ दुव्र्यसनीमा फसेका नागरिक बारे काम गर्ने क्रममा निर्धक्क भएर काम गर्ने वातावरण नभएको भन्दै गुनासो गरेका हुन् । नेपाल बार एशोसिएशनका निर्वतमान सचिव एवं अधिवक्ता विष्णु लुइटेलले सरकारले गर्नुपर्ने काम निजी क्षेत्र र केही सामाजिक अभियन्ताको तर्फबाट गरिरहेको सन्र्दभमा सरकारबाटै साथ नभएको गुनासो गरे ।
आइसिसीको नयाँ बरियताः पारस र सोमपाल एक स्थानमाथि
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र सोमपाल कामीको बरियतामा सुधार आएको छ भने बलर वसन्त रेग्मी यथावत स्थानमा रहेका छन् । आइसिसीले शनिबार सार्वजनिक गरेको नयाँ बरियताको ब्याटिङतर्फ शीर्ष सयभित्र परेका कप्तान पारसको बरियता एक स्थान सुधार गर्दै ९६ औँ स्थानमा रहेका छन् ।
अघिल्लो महीना पारस ९७ औँ स्थानमा रहेका थिए । यसैगरी बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र पर्न सफल भएका छन् । वसन्त ३९७ अङ्क प्राप्त गर्दै ७४औँ र ३३८ अङ्क जोडेका सोमपाल ९३ औँ स्थानमा पुगेका छन् ।
अघिल्लो महीना वसन्त ७४औँ स्थानमै थिए भने सोमपाल ९४औँ स्थानमा थिए । सोमपालले पनि एक स्थान सुधार गर्न सफल भएका छन् । यस्तै कप्तान पारस अलराउन्डरतर्फ यथावत रहेका छन् । शीर्ष ५० भित्र अटाएका पारसले ६८ अङ्कसहित ४२औँ स्थानमा रहेका छन् । अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी पनि शीर्ष १०० भित्र परेका छन् । सोमपाल ४२ अङ्कसहित ६४ औँ स्थानमा रहेका छन् ।