
काठमाडौं — आफ्नो परिवारविरुद्ध दुर्व्यवहारको आरोप लगाउँदै भागेकी एक साउदी किशोरी क्यानडाले शरण दिएपछि त्यहाँ पुगेकी छन् । साउदीबाट भाग्ने क्रममा उनी बैंककको एक विमानस्थलमा लुकेकी थिइन् ।
रहाफ मोहम्मद अल–कुनुन बैंकक हुँदै अस्ट्रेलिया जान खोजिरहेकी थिइन् तर त्यहाँ शुरूमा उनलाई कुवेत फर्किन भनिएको थियो । कुवेतमा उनलाई परिवारका मानिसले कुरिरहेका थिए ।
उनले फिर्ता जान अस्वीकार गर्दै आफूलाई एयरपोर्टमा रहेको एक होटलमा बन्द गरेकी थिइन् । यो घटना अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित भएको थियो ।
उनले इस्लाम धर्म त्यागेको घोषणा पनि गरेकी थिइन् । त्यस कार्यलाई साउदीमा मृत्युदण्ड दिइन्छ ।
क्यानडाकी परराष्ट्रमन्त्री क्रिस्टिया फ्रील्यान्डले यी किशोरीलाई एकदमै साहसी नयाँ क्यानडेली भनी परिचय गराएकी थिइन् । अल–कुनुनले निकै धेरै समस्या भोग्नुपरेको र लामो यात्रा गर्नुपरेको हुनाले निकै थाकेकोले गर्दा शनिवार कुनै
सार्वजनिक वक्तव्य दिन नसक्ने फ्रील्यान्डले बताइन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पत्रकारहरूसँग कुरा गर्दै शरणार्थी सम्बन्धी संयुक्त राष्ट्संघीय उच्चायोगको अनुरोध बमोजिम क्यानडाले अल–कुनुनलाई शरण दिएको बताए ।
‘क्यानडा जहिले पनि विश्वभरि मानवअधिकार र महिला अधिकारको पक्षमा रहन्छ भन्ने कुरामा प्रस्ट छ,’ उनले बताए ।
अल–कुनुन सउलबाट शनिवार कोरियन एयरको उडानबाट पीयर्सन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।
कुनुनले आफ्नो परिवारबाट हत्या हुने डर रहेको बताएका थिइन् ।
‘म आफ्नो देशमा अध्ययन गर्न र काम गर्न सक्दिनँ त्यसैले म आफूले चाहेबमोजिम अध्ययन गर्न र काम गर्न स्वतन्त्र हुन चाहन्छु,’ उनले भनिन् ।
उनले एएफपी समाचार संस्थासँग कुरा गर्दै परिवारबाट शारीरिक तथा मानसिक दुर्व्यवहार खेप्नुपरेको बताएकी थिइन् । कपाल काटेकोमा उनलाई ६ महिनासम्म कोठामा थुनिएको थियो ।
उनको परिवारका एक प्रवक्ताले यस विषयमा कुनै टिप्पणी नगर्ने र उनीहरूले किशोरीको सुरक्षा मात्र आफ्नो चासोको विषय रहेको बताए ।
शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकायले उनलाई एक वैध शरणार्थी मानेको र उनलाई शरण दिने क्यानडाको निर्णयलाई स्वागत गरेको जनायो ।
बीबीसीबाट