
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राष्ट्रपति कार्यालयलाई नयाँ दरबार बनाउन खोजेको आरोप लगाएको छ । साथै उसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधनमार्फत् गलत तथ्याङ्क प्रस्तुत गरेपनि देशको अवस्था त्यस्तो नभएको दाबी गरेको छ ।
प्रतिनिधि सभाको आइतवार बसेको बैठकको विशेष समयमा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले सरकार गणतन्त्र र संघीयता कमजोर बनाउन लागिपरेको आरोप लगाएका हुन् ।
‘सरकारको निर्णयबाट १८ करोडको गाडीमा र डेढ अर्बको हेलिकप्टरमा चढाउने र भोगविलासको जीवनमा पुरानो दरबार होइन, नयाँ दरबार झन बढी भोगविलासको बिम्ब बनाएर लैजाने सरकारको निर्णयबाट संस्था बलियो हुँदैन, गणतन्त्र बलियो हुँदैन,’ रिजालले संसद्मा भने, ‘नेपाल जे छ, जनताको आर्थिक अवस्था जस्तो छ, त्यही सुहाउँदो राष्ट्रपलिाई सेवा गर्न चाहन्छ नेपाली जनता, नयाँ दरबार बनाउन चाहँदैन ।’
कांग्रेसले प्रधानमन्त्री ओलीका अभिव्यक्तिप्रति पनि विरोध जनाएको छ । ‘प्रधानमन्त्रीज्यू, बुद्धिजीवीलाई लखेटेर, थला पारेर, कर्मचारीलाई तर्साएर, पत्रकारको पेशागत स्वतन्त्रता हनन गरेर, सत्याग्रहीको मान मर्दन गरेर तथा संसद् छलेर लोकतन्त्र बलियो हँदैन,’ रिजालले भने ।
संघीयता बलियो बनाएको भनेर प्रधानमन्त्रीले झूट बोलेको उनको जिकिर छ ।
‘अर्थमन्त्रालको मानिसबाट प्रस्तुत भएको तथ्याङ्क आफैँ प्रस्तुत गरेको भए प्रश्नोत्तर गर्न रमाइलो हुन्थ्यो,’ रिजालले भने, ‘प्रधानमन्त्रीले नेप्से घटेको काठमाडौं खाल्टोबाट नदेखेर झापामा भ्यूटावर बनाउन खोज्नुभएको होला । माफ गर्नुुस् प्रधानमन्त्रीज्यू, खाँबो बाङ्गो छ, तपाईंले देखेजस्तो देशको स्थिति छैन । झापाको भ्यूटावरमा चढेपनि निर्मला हत्याको टाटो टाढैबाट देखिन्छ ।’