
काठमाडौं — नाइजेरियामा एउटा तेल ट्यांकर पल्टिएपछि विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । पल्टिएको ट्यांकरबाट चुहिएको तेल लिन गएका मानिस विस्फोटमा परी मारिएको प्रहरी र प्रत्यक्षदर्शीहरूले बताए ।
‘हामीले १२ वटा लाश बरामद गरेका छौं अनि गम्भीर रूपमा जलेका २२ जनालाई अस्पताल लगेका छौं,’ प्रहरी प्रवक्ता आइरिन उग्बोले बताइन् । विस्फोट शुक्रवार बेलुका ओडुक्पानी नामक स्थानमा भएको थियो र त्यो देशको
दक्षिणपूर्वी भागमा पर्छ । तर केही स्थानीयहरूले मृतकको संख्या ६० जति भएको बताएका छन् ।
‘प्रहरीले केही लाशहरू मात्र बरामद गरेको हो भने अन्य मृतकहरू खरानी भए,’ प्रत्यक्षदर्शी रिचर्ड जोनसोनले बताए ।
उनले करीब ६० मानिस एउटा खाल्डोमा पसेर तेल सोहोरिरहेको बेलामा विस्फोट भएको बताए । ‘खाल्डोमा थुप्रो तेल भएकाले त्यहाँभित्र बस्ने कोही पनि बाँच्ने सम्भावना छैन ।’
विस्फोट एक विद्युतीय जेनरेटरका कारण भएको उनले बताए । मानिसहरूका कन्टेनरमा तेल भर्नका लागि जेनरेटर ल्याइएको उनको भनाइ छ ।
ट्रक के गरी पल्टियो भन्ने कारण तत्कालै प्रस्ट हुन सकेको छैन ।
द गार्डियनबाट