
काठमाडौं –नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको संलग्नताबारे नेकपा सांसदले सदनमा प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको आइतवार बसेको बैठकको विशेष समयमा नेकपा सांसद यज्ञराज सुनुवारले वाइडबडी घोटालामा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाको समेत नाम जोडिएर आएइरहेकाले यसबारे जनताले सत्य तथ्य जान्न चाहेको बताएका हुन् ।
‘केही समयअघि सार्वजनिक लेखा समितिले वाइडबडीमा भएको भ्रष्टाचारबारे गरेको निर्णयले बजार तातियो । केही मन्त्री, पूर्व मन्त्री र सचिवको नाम पनि मुछियो । संसदीय समितिले गरेको निर्णय संसदको निर्णय सरह हुन्छ,’ सांसद सुनरवारले भने, ‘यसबीचमा मुच्छदै नमुछिएका सचिव प्रेमकुमार राईको नाम हट्यो भन्ने हल्ला आयो । सञ्चारमाध्यमहरूका अनुसार तत्कतलीन मन्त्री मात्र होइन तत्कालीन प्रधानमन्त्री देउवाको नाम जोडिएर आइरहेको छ । सत्य के हो, जनता जान्न चाहान्छन्, संसद् जान्न चाहन्छ ।’
वाइडबडी खरिदका लागि दोस्रो किस्ता तिर्ने समयमा प्रधानमन्त्री रहेका देउवाले पर्यटन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेको र त्यही समयमा रकम पठाइएको समाचारहरू सार्वजनिक भएको थियो ।