
काठमाडौं, २६ फागुन –काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा फेरि लाइन बढ्न थालेको छ ।
सोमबार सप्तरीमा प्रहरीले चलाएको गोलीले चार मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएसँग बढेको राजनीतिक तनावका कारण इन्धन अभाव हुने त्रासले पेट्रोल पम्पमा उपभोक्ताको लाइन बढेको नेपाल आयल निगमले जनाएको छ ।
आयल निगमका अनुसार तराईका केही जिल्लामा राजनीतिक तनाव बढे पनि त्यसले हालसम्म इन्धन आपूर्तिमा असर गरेको छैन । ‘भारतरबाट हुने इन्धन आपूर्तिमा कुनै समस्या देखिएको छैन,’ निगमका प्रवक्ता सिताराम पोखरेलले लोकान्तरसँग भने । निगमका अनुसार बजारमा मागअनुसार नै इन्धन आपूर्ति भइरहेको छ ।
बिहीवारमात्रै ७ लाख लिटर पेट्रोल र ९ लाख लिटर डिजेल बजारमा पठाइएको प्रवक्ता पोखरेलले बताए । यो नियमित मागको झण्डै दोब्बर हो । ‘दोब्बर परिमाणमा इन्धन आपूर्ति गरिरहेकाले समस्या छैन,’ उनले थपे ।
यता व्यवसायीले भने तराई क्षेत्रमा हालैमात्र बढेको तनावका कारण पेट्रोलियमको माग ह्वात्तै बढेको बताएका छन् । ‘राजनीतिक स्थिति सहज नहुँदा उपभोक्ताले फेरि उपभोक्ताले तेल संचय गर्न थालेका छन्,’ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने, ‘यसले माग ह्वात्तै बढाएको छ ।’ अहिलेको स्थितिमा निगमले साविकभन्दा धेरै परिमाणमा तेल वितरण गर्नुपर्ने उनले बताए ।