पोखरा – पर्यटकीय नगरी पोखराको सभागृह हल शनिवार पुग्दा पाल्पाको झल्को देखिँदा सबैजना चकित देखिन्थे ।
पाल्पाको पहिचान तानसेन दरबारको झल्को दिने गरी सजाईएको मूलद्धारबाट दर्शक प्रवेश गर्दा मञ्च रानीमहलको स्वरुपमा सजाइएको थियो ।
पाल्पाली समाज पोखराको स्थापनाको रजत जयन्ती अवसरमा समाजले आयोजना गरेको ‘पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५’ मा पाल्पाली चिनारी दिने गरी सबैतिर सजाइएको हो । कार्यक्रममा डाँकिएका अतिथि तथा कलाकार समेत सबै जना पाल्पाली चिनारी बोकेका थिए ।
पहिलो पटक ऐतिहासिक रुपमा आयोजित सो कार्यक्रममा दर्शक मन्त्रमुग्ध देखिन्थे ।
कार्यक्रममा नेपाल सरकार मन्त्रिपरिषद् पूर्वअध्यक्ष तथा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अभिनन्दन तथा पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना, महानायक राजेश हमाल, कलाकार नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, इन्द्र जिसीलाई सम्मान गरिएको हो ।
उनीहरूलाई समाजका अध्यक्ष कुलप्रसाद घिमिरे, कार्यक्रम संयोजक अनन्त अधिकारी, पूर्वअध्यक्ष चिरञ्जीवी श्रेष्ठ, संस्थापक सचिव लोकनाथ काफ्ले लगायत पूर्व अध्यक्ष तथा सल्लाहकारले सामूहिक रुपमा सम्मान गरेका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे लगायत प्रदेश ५ मा प्रतिनिधित्व गर्ने पाल्पाली सांसद, स्थानीय जनप्रतिनिधि लगायतको उल्लेख्य सहभागिता थियो ।
सो अवसरमा महानायक राजेश हमालले आफू पाल्पाली भएकोमा गर्व महसुस गर्दै यसरी सम्मान गरेकोमा आभार व्यक्त गरे । उनले भने, ‘तपाईहरूले मलाई यसरी निरन्तर सहयोग र साथ नदिएको भए म अहिले यो अवस्थामा हुने थिइनँ, सधैंभरि माया दिनुभयो । पाल्पालीको इज्जत सबैतिर व्यापक छ । यसलाई जोगाइराख्नुहोला ।’
२ दशक बढी फिल्म क्षेत्रमा लागेको जानकारी दिँदै उनले जाँदाजाँदै फिल्म ‘शंकर’को संवाद बोलेका थिए । कार्यक्रमका आकर्षण महानायकसँग सेल्फी लिनेको भीड लागेको थियो ।
फिल्म निर्माता निर्देशक एवं गायक नारायण रायमाझी, गायक दुर्गा रायमाझी, बद्री पंगेनी, ईन्द्र जिसी, नवीन पौडेल, जमुना राना, शान्ति डोटेल, दुर्गाराज पाण्डेले आफ्नो प्रस्तुतिमा दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्रीमार्फत् झलक प्रदर्शन गरियो भने पाल्पाको मौलिक संस्कृति वालन नाच, कौरा नाच, सोरठी (मारुनी) प्रदर्शन गरिएको थियो ।
२०५१ सालमै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पाल्पाली समाज यस क्षेत्रकै सबैभन्दा पुरानो समाज रहेको संस्थापक सचिव लोकनाथ काफ्लेले जानकारी दिए ।
कार्यक्रमपछि पाल्पाका २ नगरपालिका र ८ गाउँपालिकाका प्रमुख लगायतका जनप्रतिनिधिसँंग बृहत् छलफल कार्यक्रम भएको समाजका संरक्षक एवं पूर्वअध्यक्ष चिरञ्जीवी श्रेष्ठले बताए ।