
काठमाडौँ — राष्ट्रिय सभा विधायन समिति सभापति परशुराम मेघी गुरुङको भक्तपुर सूर्यविनायक नगरपालिकाको सुवर्णेश्वर आधारभूत विद्यालय सँगै घर छ । तर उनी संसद् सचिवालयबाट नियमित घरभाडा बुझ्ने सांसदको सूचीमा पर्छन् ।
सचिवालयबाट उनले घरभाडाबापत मासिक २५ हजार ६ सय ८ रुपैयाँ बुझछन् । उनले पुसको घरभाडासमेत बुझिसके ।
‘सुवर्णेश्वर मन्दिर सँगै उहाँको घर छ, म पनि पुगेको छु,’ सूर्यविनायक नगरपालिकाका एक जनप्रतिनिधिले भने, ‘घर हुँदाहुँदै भाडा लिनु त ठीक भएन ।’ गुरुङले पनि भक्तपुरमा आफ्नो घर भएको बताएका थिए । संघीय संसद्को तेस्रो अधिवेशन पुस ११ मा सुरु भएपछि सचिवालयले सांसदलाई काठमाडौंमा घर भए–नभएको यकिन गर्न फाराम भराएको थियो । तर गुरुङले घर नभएको भन्दै फाराममा हस्ताक्षर गरेको स्रोतले जनाएको छ ।
घरभाडा लिनेमा सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण पनि छन् ।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्ट पनि घरभाडा बुझ्ने सूचीमा छिन् ।
स्रोतका अनुसार पुससम्म घरभाडा लिने सूचीमा कांग्रेस सांसद चित्रलेखा यादव, नेकपा सांसद नविना लामालगायत पनि रहेका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।