
सुर्खेत – ५ नम्बर प्रदेश प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक बोधराज रेग्मीलाई विशेष सूचना प्राप्त भयो- कालिकोटका एक व्यक्तिले चितुवाको छाला बिक्री गर्दैछन् ।
सूचनालाई गम्भीर रूपमा लिँदै उनी ती व्यक्तिलाई पक्राउ गर्ने मिसनमा जुटे । उनी आफैं ग्राहक बनेर सुर्खेत आइपुगे ।
रेग्मी नेतृत्वको टोलीले कालिकोटको रास्कोट नगरपालिका–४ सिउनाका टंकप्रसाद उपाध्यायसँग सम्पर्क गर्यो । प्रहरी टोलीले ग्राहक बनेर उनलाई वीरेन्द्रनगर– ३ स्थित होटल भिजिट रारामा सम्पर्कका लागि बोलायो ।
उपाध्याय होटलमा आए, तर शुरूमा उनले छाला देखाउन मानेनन् । मूल्य निर्क्यौल नभई छाला नदेखाउने उनको अडान थियो ।
रेग्मीले राम्रै रकम दिने वचन दिए । त्यसलगत्तै उपाध्ययले आफूसँग भएको चितुवाको छाला देखाए । चितुवाको छाला देखाएलगत्तै सादा पोशाकको उक्त प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गर्यो ।
प्रहरीका अनुसार उपाध्ययको साथबाट ध्वाँसे चितुवाको दुई थान छाला बरामद भएको छ । पक्राउ परेका उपाध्यायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले बताए ।
'हामी अहिले घटनास्थलमा मुचुल्का उठाइरहेका छौं,’ रेग्मीले भने, ‘उनलाई उतै लाने वा सुर्खेत प्रहरीको जिम्मा लगाउने भन्ने विषय टुंगो लागेको छैन ।’