२४ जेठ २०८३, आइतबार

सुर्खेतबाटै पुन: श्रम स्वीकृति पाउँदा हर्षित् बने ललित, भन्छन्- 'सरकार नजिकै रहेको महसूस भयो'

माघ ६, २०७५
सुर्खेतबाटै पुन: श्रम स्वीकृति पाउँदा हर्षित् बने ललित, भन्छन्- 'सरकार नजिकै रहेको महसूस भयो'

सुर्खेत -१७ वर्षसम्मसाउदी अरेबियामा काम गरिसकेका सुर्खेतका ललित घर्ती मगरको आइतवार खुशीको कुनै सीमा नै थिएन ।

फेरि आफ्नो कर्मथलो फर्किने तयारीमा रहेका उनले सुर्खेतबाटै पुन: श्रम स्वीकृति पाउँदै थिए । खुशी यसमा मात्र सीमित थिएन, उनी सुर्खेतबाटै श्रम स्वीकृति लिने पहिलो व्यक्ति बन्दै थिए ।

श्रम तथा रोजगार कार्यालय सुर्खेतमा सेवा शुभारम्भका लागि विशेष कार्यक्रम नै आयोजना गरिएको थियो । प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले उनलाई श्रम स्वीकृति प्रदान गरे ।

श्रम स्वीकृति हातमा परेपछि उनी निकै हर्षित् देखिए । 'छोटो समय र भनेकै बेलामा श्रम स्वीकृति पाइयो,’ उनले खुशी हुँदै भने, ‘सरकार नजिकै आएको महसूस भयो ।’

यसअघि श्रम स्वीकृतिका लागि काठमाडौंमा धेरै झन्झट बेहोर्नुपरेको गुनासो पनि उनले गरे ।

उनलाई श्रम स्वीकृति प्रदान गरेसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पनि पुनः श्रम स्वीकृति दिन शुरू गरिएको छ ।

 

श्रम तथा रोजगार कार्यालय सुर्खेतमा आइतवार आयोजित विशेष कार्यक्रमका बीच कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गर्दै सेवा शुभारम्भ गरेका हुन् ।

अब पुनः श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । कर्णालीका १० जिल्लाका युवाले अब श्रम स्वीकृति लिन थप सहज भएको मन्त्री रावलले बताए ।

‘कोहलपुरमा यो कार्यालय सञ्चालन गर्ने तयारी संघीय सरकारको थियो,’ मन्त्री रावलले भने, ‘मेरो कडा विरोधका कारण यहाँ कार्यालय आएको हो । कर्णालीवासी जनताका लागि यो कार्यालयले राहत दिनेछ ।’

मन्त्री रावलले श्रम स्वीकृति दिने प्रक्रिया अनलाइनमै भएका कारण अब श्रमीकहरू ठगिनबाट बच्ने पनि बताए ।

‘विगतमा श्रमीकहरूमाथि ठगी भइरहेको समाचार बारम्बार सार्वजनिक हुने गरेको थियो,’ उनले भने, ‘तर अब कार्यालय 'ई-गभर्नेन्स'मा गइसकेपछि श्रमीकहरूलाई ठगिनबाट बचाइनेछ ।’

श्रम नीति ल्याइँदै

मन्त्री रावलले कर्णालीका युवालाई लक्षित गरेर श्रम नीति ल्याउन लागिएको जानकारी दिए ।

‘कर्णालीका युवालाई उत्पादनमूलक सीप सिकाउने गरी मन्त्रालयले नीति तय गरिरहेको छ,’ उनले भने, ‘हामी कर्णालीका हरेक युवालाई विश्व बजारमा बिक्न सक्ने बनाउँछौं ।’

मन्त्री रावलले तत्काल श्रम स्वीकृति दिन शुरू भएका कारण कर्मचारी अभाव भएको भए मन्त्रालयले स्वंय सेवकको व्यवस्था गरेर भएपनि सेवा प्रवाहमा चुस्तता ल्याउने प्रतिबद्धता जनाए ।

यसरी लिनुहोस् पुनः श्रम स्वीकृति

कार्यालय प्रमुख श्यामप्रसाद आचार्यका अनुसार कार्यालयबाट विदेश गएर आएकाहरूलाई मात्रै श्रम स्वीकृति दिइन्छ ।

‘हामीले विदेश गएर आइसकेकालाई मात्रै पुनः श्रम स्वीकृति दिनेछौं,’ उनले भने, ‘नयाँ श्रम स्वीकृति भने काठमाडौंमा नै पाइन्छ ।’

कार्यालयबाट पुनः श्रम स्वीकृति लिँदा श्रमिकले रोजगार कल्याणकारी कोषका लागि १५ सय रुपैयाँ बैंकमा जम्मा गर्नुपर्छ भने बिमा पनि गर्नुपर्छ ।

यसका अतिरिक्त रकम नलाग्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्