२३ जेठ २०८३, शनिबार

लोकान्तरका सम्पादकमाथिको आरोपबारे परराष्ट्र सचिवको भनाई

लोकान्तरका सम्पादकमाथिको आरोपबारे परराष्ट्र सचिवको भनाई

काठमाडौं–अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई मन्त्रालयमा भेटेको विषयमा लोकान्तरमा प्रकाशित समाचारप्रति यस अघि नै गरेको खण्डनका सम्बन्धमा परराष्ट्र  सचिव शंकारदास वैरागीले आइतवार थप प्रष्ट पारेका छन् ।   

गएको पुस १२ गते लोकान्तरले मानव तस्करीको आरोप लागेकी राजदूत शेर्पामाथि छानबीन चलिरहेकै बेला सचिव वैरागीले उनलाई मन्त्रालयमा भेट गरेको र त्यसो गर्नु गलत भएको समाचार प्रकाशित गरेको थियो । 

त्यो समाचारको पुस १५ गते खण्डन गर्दै सचिव वैरागीले उक्त समाचार भ्रामक, कपोलकल्पित र आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित रहेको दावी गरेका थिए । आफूले राजदूत शेर्पालाई सामान्य शिष्टाचार निभाउनका लागि मात्र मन्त्रालयमा भेटेको उनको भनाइ थियो । 

खण्डनका क्रममा सचिव वैरागीले लोकान्तरका सम्पादकका निजी स्वार्थका विषय आफू मार्फत पूरा हुन नसकेको प्रतिक्रियाका रुपमा लोकान्तरमा आफूलाई जोडेर समाचार प्रकाशित भएको आरोप लगाएका थिए । 

आफूमाथि आरोप लागेपछि लोकान्तरका सम्पादकले तत्कालै त्यस्तो आरोपको पुष्टि गर्न चुनौती दिएका थिए । साथै अरोप लगाइनुका आधारसहित सचिव वैगारीसँग लिखित जवाफ माग गर्दै पुस ३० गते पत्र पेश गरेका थिए । 

पत्रको जवाफ दिँदै आइतवार (माघ ६ गते) सचिव वैरागीले प्रकाशित समाचारप्रति विमती जनाउँदा प्रतिक्रिया स्वरुप त्यस्तो आरोप लगाएको तर तथ्यगत प्रसंगमा त्यस्तो नभएको स्पष्ट पारेका छन् । 

‘जहाँसम्म मेरो खण्डन पत्रमा के आधरमा यहाँको निजी स्वार्थसम्बन्धी विषय पर्न पुग्यो भन्ने यहाँको प्रश्न छ, सो विषय तथ्यगत प्रसंग भन्दापनि त्यसवेला सम्प्रेषण भएको म विरुद्धको आधारहीन, भ्रामक एवं चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित समाचारप्रति विमती जनाउँदा प्रकट हुन पुगेको प्रतिक्रिया थियो । त्यसलाई त्यहित रुपमा वुझिदिन हुन अनुरोध गर्दछु । यहाँको व्यक्तिगत चरित्र, इमान्दारिता र सम्मानमा आँच पुर्याउने मेरो उद्देश्य समेत नभएको स्पष्ट पार्न चाहन्छु” सचिव वैरागीद्धारा जारी प्रष्टीकरण पत्रमा उल्लेख छ ।

सचिव वैरागीले समाचारको खण्डनले विषयलाई केहीहदसम्म प्रष्ट पारेपनि समाचारबाट सृजित भ्रम पूर्णरुपमा सम्बोधन हुन नसकेको पनि बताएका छन् ।  

‘राजदूतबारेको समाचारको खण्डनले विषयवस्तुलाई केही हदसम्म स्पष्ट पार्न मद्दत पुगे पनि मलाई पर्न गएको चोट र समाचारबाट सिर्जित भ्रमलाई पूर्णरुपमा सम्बोधन गर्न नसकेकोप्रति यहाँको ध्यानाकर्षण गराउन चाहन्छु,’ सचिव वैरागीले पत्रमा भनेका छन् । 

साथै सचिव वैरागीले आफ्नो खण्डन प्रकाशित भए पछि लोकान्तरका सम्पादकसँग व्यवसायिक सीमाभित्र रहेर  आफ्नो कुराकानी भएको र त्यसका क्रममा लोकान्तरका सम्पादकले समाचारमा ‘पर्याप्त मात्रमा सावधानी अपनाउन नसकीएको’ विषय स्वीकार गरेको उल्लेख गरेका छन् ।  

‘मेरो खण्डन प्रकाशित भइसकेपछि हामीबीच व्यवसायिक सिमाभित्र रहेर कुराकानी हुन पुगेको थियो । उक्त कुराकानीका क्रममा यहाँले सम्पादकको हैसियतमा मेरो नाम जोडेर प्रकाशित भएको समाचारको प्रस्तुति एवं तथ्यमा केही अपरिपक्कता र सन्तुलनताको सन्दर्भमा पर्याप्त सावधानी अपनाउन नसकिएको स्वीकार गर्नुभएकोमा म धन्यवाद दिन चाहन्छु,’ सचिव वैरागीले आइतवार जारी गरेको स्पष्टीकरण पत्रमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्