
पाल्पा - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विपक्षी दलको नेताको अनुपस्थितीमा संवैधानिक परिषदको बैठकले निर्णय गर्नु संविधानको मर्ममाथि प्रहार भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकारले विपक्षी दलको नेता बिना संवैधानिक परिषदको बैठक बसेर विभिन्न आयोगमा नियुक्ती गरेकोमा आपत्ती जनाउनुभयो । उहाँले भन्नुभयो–‘सरकारले विपक्षी दलको नेता बिनाको बैठक राखेर संविधानको मर्ममाथि प्रहार गरेर संवैधानिक व्यवस्थालाई चुनौती दिने काम भएको छ । यो संवैधानिक परिषदमाथि चुनौति दिएर आफ्ना मान्छे नियुक्ती गर्ने काम आपत्तीजनक छ ।’
सरकारले प्रमुख विपक्षी दलको नेताको उपस्थिती बिना बैठक गरेर आइतवार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेको थियो ।
उहाँले विपक्षी दलको नेताको अनुपस्थितीमा बसेको बैठकले कसरी काम गर्न सक्छ भनि प्रश्न समेत गर्नुभयो ।
वरिष्ठ नेता पौडेलले जातिय धार्मिक तथा क्षेत्रियताको मुद्दा कांग्रेसले बोक्ने नसक्ने बताउदै भन्नुभयो–‘जातिय धार्मिक तथा क्षेत्रियताको मुद्दा कांग्रेसले बोक्नेहोइन यी अराजनीतिक विषय हुन कांग्रेस भनेको राजनीति पार्टी हो । लोकतन्त्रले नै सवैलाई अधिकार दिएको हो ।’