
काठमाडौं – तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा विद्यालयस्तरमा पठनपाठन हुने संस्कृत शिक्षामाथि आक्रमण गरियो । माओवादीको प्रभाव क्षेत्रमा संस्कृति शिक्षालाई निषेध गरियो ।
ऐच्छिक विषयको रुपमा विद्यालयमा पढाइ हुने संस्कृतिलाई ‘नैतिक शिक्षा’ पुस्तकले विस्थापित गरियो । तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नैतिकता स्थापित गर्न संस्कृत शिक्षाको आवश्यकता महसुस गर्नुपर्ने अवस्था आएको छ । संस्कृति भाषमा रहेका अधिकांश पूर्वीय दर्शनका ज्ञानले नैतिकताको खडेरी अन्त्य गर्न सक्ने आयोगको निष्कर्ष छ ।
ओली सरकारद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ को प्रतिवेदनको परिच्छेद २० ‘पूर्वीय दर्शन र शिक्षा’ खण्डमा लेखिएको छ, ‘अहिले हाम्रा आम नागरिकमा जुन नैतिक सांस्कृतिक मूल्यको खडेरी देखिँदैछ, त्यसको प्रभावकारी उपचार पूर्वीय दर्शनमा विद्यमान छ । अन्धविश्वास, रुढी र अवैज्ञानिक चिन्तनको उपचार पूर्वीय दर्शनमा पनि छ । देशप्रेमी, समुदायमुखी, सदाचारयुक्त, स्वस्थ र सिर्जनशील बालबालिकाको निर्माणका लागि पूर्वीय दर्शन निकै प्रभावकारी औजार हुन सक्छ ।’
आयोगको संयोजकत्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गरेका थिए भने सदस्यमा पूर्वशिक्षामन्त्री द्वय गंगाराम तुलाधर र धनिराम पौडेल समेत रहेका थिए । ३ वटै मन्त्रीहरू कम्युनिस्ट विचारधाराको राजनीतिमा सक्रिय छन् ।
आयोगले सरकारलाई बुझाएको ४९९ पृष्ठको प्रतिवेदनमा पूर्वी दर्शन अन्तर्गत पर्ने वेद, उपनिषद् तथा गीताको ज्ञानको चर्चा गरिएको छ । ‘नेपालमा भएका यी तीन (पूर्वीय) दर्शनको अध्ययनलाई विद्यालय शिक्षादेखि उच्च शिक्षाको पाठ्यक्रमभित्र प्रवेश गराएमा हरेक व्यक्तिभित्र लुकेका क्षमताहरूको चौतर्फी विकास गर्नमा सहायक हुन्छ,’ प्रतिवेदनमा लेखिएको छ ।
‘पूर्वीय दर्शनको अध्ययनलाई हरेक तहको विद्यालय शिक्षाको छुट्टै र सामाजिक अध्ययन र नागरिक तथा नैतिक शिक्षा विषयको पाठ्यक्रममा समावेश गर्ने,’ प्रतिवेदनमा लेखिएको छ, ‘योग, ध्यान र दर्शनको अध्ययन र अभ्यासलाई विद्यालय मात्र सीमित नराखी राष्ट्रिय अभियान र जनसंस्कृतिका रुपमा देशभरि सबै नागरिकमा विस्तार गर्ने । यसका लागि सामुदायिक अध्ययन केन्द्र, खुला विश्वविद्यालय तथा विद्यालय, पुस्तकालयको सञ्जाल विस्तार गर्ने ।’
पूर्वीय ग्रन्थहरूमा भएका चेतन, अर्धचेतन तथा अचेतन मनहरूको उपयोग गर्ने तरिकाहरूलाई जनमानसमा पुर्याउनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ ।
पूर्वीय दर्शनबारे यस्तो छ प्रतिवेदनमा :




