काठमाडौँ, २६ फागुन - नेकपा (एमाले) ले आफ्नो मेची महाकाली राष्ट्रिय अभियान र सप्तरीको राजविराजमा भएको हिंसात्मक घटनाका सम्बन्धमा आज यहाँस्थित विभिन्न कूटनीतिक नियोग र प्रमुखलाई अवगत गराएको छ ।

अभियानका क्रममा राजविराजमा यही फागुन २३ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नाममा अवाञ्छित तत्वद्वारा सिर्जित घटनाका कारण स्थगन गरिएको अभियान फागुन २७ गते हेटौँडाबाट पूर्ववत् सञ्चालन हुने जनाउँदै पार्टीले हिंसात्मक घटना हुनुमा आफ्नो पार्टी जिम्मेवार नभएको बताएको छ ।
एमालेले आयोजना गरेको सो भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले घटनाबारे अन्तर्राष्ट्रिय समुदायमा कुनै भ्रम र अन्योल नहोस् भन्दै मधेसका विभिन्न जिल्लामा एमालेका पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घर र सार्वजनिक सम्पत्तिमा आगजनी तथा तोडफोड गरिएको अवगत गराउनुभएको थियो ।
चीन, भारत लगायतका प्रतिनिधि सहभागी सो कार्यक्रममा एमालेका नेता एवम् विदेश विभाग प्रमुख माधवकुमार नेपाल र उपाध्यक्ष भीमबहादुर रावलले पनि अभियान र तराई–मधेसमा उत्पन्न गराइएको अवरोधबारे जानकारी गराउनुभएको थियो । रासस