३० जेठ २०८३, शनिबार

कालोपत्रे गर्ने ठेकेदार हराएपछि स्थानीयको जिज्ञासा- गृहमन्त्री बादल पनि कता हराए कता ?

माघ ९, २०७५
कालोपत्रे गर्ने ठेकेदार हराएपछि स्थानीयको जिज्ञासा- गृहमन्त्री बादल पनि कता हराए कता ?

धनगढी –ठेक्का सम्झौता अनुसार काम नगरेपछि कालोसूचीमा परेको निर्माण कम्पनी ठेगिन कन्ट्रक्सन पुनः बेखबर भएको छ ।

कैलालीको बडैपुर–हसुलिया सडकखण्ड कालोपत्रे गर्न ठेक्का पाएको कम्पनी कालोपत्रेको काम छोडेर पुनः बेखबर भएको हो । काम अलपत्र छोडेर भागेपछि स्थानीय आक्रोशित भएका छन् भने सडक डिभिजन कार्यालय कञ्चनपुर निरीह देखिएको छ ।

डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर महेन्द्र पन्तका अनुसार डिभिजन कार्यालय र ठेगिनबीच २०७२ असार ३० गते सम्झौता भएको थियो । २० किलोमिटर सडक खण्डमध्ये ५ किलोमिटर अर्थात् बडैपुरको जंगलस्थित महेन्द्र राजमार्गमा रहेको जिरो प्वाइन्टदेखि ईलाका वन कार्यालय उदासीपुरसम्म कालोपत्रेको लागि सम्झौता भएको थियो ।

कैलालीको साविक निर्वाचन क्षेत्र नम्बर ४ का सांसद गौरीशंकर चौधरीको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत ५ किलोमिटर सडक कालोपत्रेको लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । जसमध्ये ठेगिन कन्स्ट्रक्सनले साढे ३ करोड रुपैयाँको ठेक्का पाएको सडक डिभिजनका इन्जिनियर पन्तले जानकारी दिए । २०७४ चैत्र ३० गते ठेक्का सम्झौता सकिएको कम्पनीले हालसम्म करीब ४० प्रतिशत मात्रै काम गरेको जनाइएको छ ।

गत जेठमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले काम नगर्ने ठेकेदारको सूची तयार पार्न प्रशासनलाई निर्देशन दिएपछि ठेगिन कन्स्ट्रक्सनलाई पनि जिल्ला प्रशासन कार्यालय कैलालीले काम नगर्नेको सूचीमा पारेको थियो । पछि प्रशासनले बोलाएर स्पष्टीकरण सोधेपछि कम्पनीका प्रमुख सुनिल थापाले काम अगाडि बढाउने लिखित प्रतिवद्धता जनाएका थिए । तर हालसम्म कम्पनीले काममा बेवास्ता गरिहरहँदा पनि प्रशासन मौन बसेको छ । 

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले काम नगर्ने कम्पनीलाई निगरानीमा राखेको बताए । कुन आयोजनामार्फत् कुन विकास योजनाको काम ठप्प भएकोबारे बुझ्ने काम गरिरहेको बताउँदै उनले अब काम नगर्ने कम्पनीको बैैंक धरौती जफत गर्नेसम्मको कारवाही प्रक्रिया थालिरहेको उल्लेख गरे ।

निकम्मा सडक डिभिजन

पटक–पटक जारी गरेको आफ्नै चेतावनी सहितको सूचना बेवास्ता भएपनि डिभिजन कार्यालय भने निरीह देखिएको छ । डिभिजन कार्यालयका इन्जिनियर पन्तले कम्पनीलाई कारवाही गर्ने भनी राष्ट्रिय पत्रिकामा सूचना जारी गरेको तर कारवाही भने गर्न नसकेको स्वीकार गरे ।

‘कुनै पनि कम्पनीसँग भएको सम्झौता भंग गरे काम सूचारु गर्न नयाँ चरणको टेण्डर आह्वान गर्नुपर्ने अवस्थाले काम झनै पछाडि धकेलिने हुन्छ । जुनकारण हामीले सम्भवतः ठेकेदारहरूलाई सम्झाइबुझाइ काम गराउने प्रयासमा लागेका हुन्छौं । तर उनीहरूको बेवास्ताले हैरान खेप्दै आएका छौं,’ इन्जिनियर पन्तले भने ।

‘ठेकेदार पनि पनि हराए, बादल पनि हराए’

ठेकेदारले समयमा काम पूरा नगरेपछि स्थानीय आक्रोशित भएका छन् । गृहमन्त्री बादलको कामचोर ठेकेदारलाई कारवाही गर्ने भनी गरेको भाषण समेत मौसमी रहेको स्थानीयको भनाइ छ ।

स्थानीय स्कूलका शिक्षक उज्जल साउँदले भने, ‘गृहमन्त्री बादलले कारवाहीको सूची बनाउन लगाएपछि केही आशा पलाएको थियो । तर खै ठेकदार हराएका हराए छन् । बादल पनि कता हराए कता ? सब भन्ने कुरा नै हुन् जसो लाग्छ ।’

विकास निर्माणको काम अधुरै रहेपछि स्थानीय तहका जनप्रतिनिधि पनि निरीह भएका छन् । गौरीगंगा नगरपालिका–१० का वडाध्यक्ष पदमबहादुर ऐरले केन्द्रीय योजना अनुसार कामको ठेक्का भएकोले आफूहरू केही गर्न नसकिरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्