
काठमाडौं– गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले सुत्केरी गराउन आउनेले अस्पतालमा बेड नपाएको भन्दै फोन गरेर हैरान बनाएको बताएकी छिन् ।
बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको प्रदेशको अधिकार हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री पुनले आफूलाई 'बेड मिलाइदिनुस्' भन्दै फोन आउने बताएकी हुन् ।
‘हाम्रो प्रदेशभित्र कार्यरत चिकित्सकलाई केन्द्रले कुनबेला कहाँ सरुवा गर्छ हामीलाई थाहै हुँदैन, सरकारले पठाएको चिकित्सक हामीलाई टेर्दैनन्,’ गण्डकी प्रदेशभित्र रहेका अस्पतालहरुको समस्या देखाउँदै पुनले भनिन्, ‘म बच्चा जन्माउन आएको हुँ, बेड पाइएन भन्दै धेरै फोन आउँछ मलाई ।’
मन्त्री पुनले सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानगण्डकी अस्पतालको अधिकार प्रदेशलाई दिनुपर्ने माग राखिन् ।
‘गण्डकी अस्पतालमा विरामी भेट्न जाँदा कर्मचारीले छड्केमा आउनुभयो भनेर सोध्छन्, जनताले गण्डकी अस्पतालको सुधार गर्नुप¥यो भन्नुहुन्छ, तर जनतालाई थाहा छैन त्यो अधिकार प्रदेश सरकारलाई दिइएकै छैन,’ मन्त्री पुनले स्वास्थ्यमन्त्री यादवसँग गुनासो गरिन्, ‘सक्नुहुन्छ भने प्रदेश सरकारलाई गण्डकी अस्पताल हस्तान्तरण गर्नुस्, हामी सबै सेवा सुधार गर्छौं, नभए उपचार, व्यवस्थापन र अनुगमनको जिम्मेवारी दिनुस् ।’
मन्त्री पुनले स्वास्थ्य मन्त्रालयले प्रदेश सरकारको मतहतमा जिम्मा लगाइएका अस्पतालहरुको २८ लाख सम्म बेरुजु रहेको भन्दै उक्त रकम केन्द्रले मिलाउनुपर्ने बताइन् ।
कार्यक्रममा आफ्नो धारणा राख्दै प्रदेश नम्बर २का सामाजिक विकासमन्त्री नवकिशोर शाहले कोशी अञ्चल अस्पताल र नारायणी अस्पताल पनि प्रदेश सरकारकै मातहतमा हुनुपर्ने माग राखे ।
‘दुई नम्बर प्रदेशमा अस्पतालको रुपमा चिनिएको ३ वटा मात्रै थियो त्यो पनि दुईवटा केन्दमै राख्दा त्यो अस्पतालको अन्तिम अवस्था आउँछ,’ मन्त्री शाहले भने, ‘आज त्यहिँबाट निर्वाचित भएको व्याक्ति उपप्रधान तथा स्वास्थ्यमन्त्री केन्द्रमा हुनुहुन्छ भोली सरकार परिवर्तन हुँदा ति अस्पतालको के हालत हुन्छ ?’
प्रदेश नम्बर ३ का समाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशले पाएको अधिकारमा सम्भावना र जोखिम रहेको धारणा राखे । कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सदर्शा बरालले संघीयताको अभ्यास नयाँ भएकाले संघ, प्रदेश र स्थानीय तह आफैं सिकाइको क्रममा रहेको भन्दै तीनवटै तहको सहकार्यमा अगाडि बढ्नुपर्ने बताए ।
यस्तै सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जनशक्ति, पूर्वाधार अभावले सुदुरपश्चिमको स्वास्थ्यक्षेत्र संकटग्रस्त रहेको बताए ।
सुवेदीले भने, ‘हाम्रो सुदुरपश्चिममा एउटा प्राथमिक स्वास्थ्यकेन्द्रमा पान २ दिन लाग्छ, प्रदेश सरकारकै निकायहरुको भवन समेत नभएको अवस्था छ ।’