
काठमाडौं–अबैध रूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका २६ सामाखुसी सरकारीधारा रोममार्ग वस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी धरान नगरपालिका(१९ जिमिचोक घर भई काठमाडौं महानगरपालिका २६ बस्ने संजिप राईले भाडामा लिएको उक्त घरको १ कोठामा अवैध अन्तर्राष्ट्रिय कल बाईपास संचालन गरिरहेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त कार्य संचालन गर्ने उपकरणहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरूबाट १२८ पोर्टको भिओआइपी गेटवे १ थान, एन्टेना ३२ थान, ल्यापटप १ थान, राउटर १ थान, तार सहितको मिडिया कन्भर्टर १ थान, मल्टीपल्क १ थान, युपीएस १ थान, नखोलिएको रिचार्ज कार्ड १३ थान, एनटिसी सिमकार्ड १५ थान, एनसेल सिमकार्ड १० थान, स्मार्ट सिमकार्ड ११ थान, एडप्टर १ थान, अप्टिकल बक्स १ थान, प्रयोग नभएका सिमकार्ड ७ थान, मोबाईल ३ थान र भारतीय गणराज्यबाट जारी भएका राहदानीको फोटोकपी ३० पाना बरामद भएको प्रहरीले जनाएको छ ।
यसैबीच विभिन्न व्यक्तिहरुलाई सस्तोमा मुल्यमा सुन दिने भनि उनीहरुसँग ५ लाख १० हजार रुपैयाँ लुटी फरार भएका ३ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं जोरपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक नगरपालिका १४ खालेगाउँका ३८ वर्षीया विविमाया तामाङ, काठमाडौं नागार्जुन नगरपालिका ९ हसनटार बस्ने २९ वर्षीय चक्रे भन्ने यमबहादुर तामाङ र काठमाडौं चन्द्रागिरी नगरपालिका ५ थानकोट बस्ने २५ वर्षीय हिरा तामाङ रहेका छन् ।
गत मंसिर २० गते काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका(१ घर भएका ३० वर्षीय प्रदिप कालीदासलाई बौद्धस्थित सुन पसलमा उनीहरुले ललाई फकाई १५–२० तोला सुन सस्तोमा दिने भनी काठमाडौं महानगरपालिका १४ कलंकी बोलाई नैकापबाट उनी सँग भएको उक्त नगद लुटेर फरार भएका थिए ।
फरार व्यक्तिहरुको महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई काठमाडौं र सिन्धुपाल्चोकका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
दुबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।