०७ असार २०८३, आइतबार

यो आरोपमा रोनाल्डोलाई एक करोड ८८ लाख यूरो जरिवाना, जेल भने बस्न नपर्ने

माघ ९, २०७५
यो आरोपमा रोनाल्डोलाई एक करोड ८८ लाख यूरो जरिवाना, जेल भने बस्न नपर्ने

म्याड्रिड– करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन् । 

मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिए पनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानूनानुसार सामान्यतया दुई वर्षभन्दा कम जेल सजाय पाउनेहरू जेल जानु नपर्ने भएकाले उनी जेल बस्नुपर्ने भने छैन । 

यी स्टार खेलाडीले सन् २०११ देखि २०१४ सम्म रियल म्याड्रिड फुटबल क्लबका लागि खेल्दा विदेशी कम्पनीमा खाता खोली रोनाल्डोले कल छलेको आरोप लगाइएको थियो । 

रोनाल्डोले कर छलेको विवरण पहिलो पटक सन् २०१७ मा बाहिर आएको थियो । त्यतिबेला अभियोजनकर्ताहरूले उनीबाट ’जानाजान’ करछली भएको बताएका थिए । 

तर रोनाल्डोका वकिलहरूले नियतवश कर छलेको नभई स्पेनी कानून बारेको असमझदारीका कारण त्यस्तो हुन गएको बताएका छन् । 

रोनाल्डोले अर्को मुद्दा पनि झेलिरहेका छन् । सन् २००९ मा बलात्कार गरेको उनीमाथि आरोप छ, जसलाई उनले अस्वीकार गर्दै आएका छन् । 

 पाँच पटकसम्म युरोपको ’बालन डो’र’ अर्थात् सुनौलो बल पुरस्कार जितेका रोनाल्डो विश्वका उत्कृष्टमध्येका एक फुटबल खेलाडी हुन् । 

कमेन्ट गर्नुहोस्