
सुर्खेत– पञ्चपुरी नगरपालिकाले चार पटक नियमित रुपमा गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामा गर्भवती गराउने नगरभरिका महिलालाई झण्डै १९ लाख रुपैयाँ भन्दा बढी प्रोत्साहन रकम वितरण गरेको छ । नगर स्वास्थ्य शाखाका प्रमुख गंगादेव पुरीका अनुसार गत वर्षबाट शुरु गरेको सुत्केरी प्रोत्साहन रकमका लागि नगरपालिकाले मंसिर मसान्तसम्म १९ लाख १० हजार रुपैयाँ बाँडेको बताए ।
गत आर्थिक वर्षमा नगरमा ६६० जना महिलाले प्रति महिला दुई हजारका दरले १३ लाख २० हजार रुपैयाँ नगरले बाँडेको छ । उनका अनुसार संघीय सरकारले ती महिलालाई चारपटक स्वास्थ्य जाँच र स्वास्थ्य संस्थामा सुत्केरी भएको खण्डमा थप २ हजार ८ सय रुपैयाँ प्रदान गर्दै आएको छ । यो संगै अहिले पञ्चपुरीका सुत्केरी आमाहरुले स्वास्थ्य संस्थामा नियमित जाँच र सुत्केरी गराएको खण्डमा ४ हजार ८ सय रुपैयाँ बुझ्ने गरेका छन् ।
आठ महिनामा ७३ कम उमेरका आमा
नगर स्वास्थ्य शाखाका अनुसार यो आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म २० वर्ष भन्दा कम उमेर भएका ७३ जना आमा बनेकाछन् । ती मध्ये वावियाचौर स्वास्थ्य केन्द्रमा १० जना, विद्यापुर स्वास्थ्य केन्द्रमा ९ जना, तातापानीमा १३ जना २० वर्षभन्दा कम उमेरका आमाहरुले सन्तान जन्माएका छन् ।
सबैभन्दा बढी साल्कोट स्वास्थ्य संस्थामा २० वर्ष भन्दा कम उमेरकालाई सुत्केरी गराएको पाइएको नगर स्वास्थ्य शाखा प्रमुख पुरीको भनाईछ । उनका अनुसार साल्कोट स्वास्थ्य संस्थामा ४२ जनाले साउन एकदेखि मंसिर मसान्तसम्म बच्चा स्वास्थ्य संस्थामा जन्म दिएका हुन । यो पाँच महिनामा पञ्चपुरीका २० वर्ष भन्दा माथिका २२२ जना आमाहरुले स्वास्थ्य संस्थामा सुत्केरी गराएको तथ्यांक प्रमुख पुरीको थियो ।

पाँच महिनामा झण्डै ६ लाख बाँडियो
नगरपालिकाले गत वर्षदेखि शुरु गरेको सुत्केरी प्रोत्साहन कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षको पाँच महिनामा पाँच लाख ९० हजार रकम वितरण गरिएको जानकारी दिएको छ । यो रकम २९५ जना महिलालाई वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत बखतबहादुर खड्काले जानकारी दिए । ‘हामीले पाँच महिनामा सुत्केरी प्रोत्साहन कार्यक्रम अन्र्तगत २९५ जना महिलालाई रकम दिएकाछौं, उनले भने, उक्त कार्यक्रम अन्र्तगत पाँच लाख ९० हजार रुपैंया सुत्केरी महिलाले बुझेका छन् ।
नगरपालिकाले नगरपालिका भित्रका महिलाहरुलाई मात्रै प्रोत्साहन स्वरुप दुई हजार रुपैयाँ दिने गरेको उनको भनाईछ । बाहिरबाट सुत्केरी हुन आएकाले यो प्रोत्साहन रकम पाउँदैनन् । उनले भने, ‘पञ्चपुरीका महिलाका लागि विशेष प्रोत्साहन रकम हो ।’
स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन
नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापाले आफूहरुले नगरभरिका गर्भवती महिलाले स्वास्थ्य संस्थामा स्वास्थ्यको नियमित जाँच गरुन र पञ्चपुरीमा कुपोषण नभएका बालबालिका जन्मिउन भन्ने ध्येयका कारण प्रोत्साहन रकम दिने गरेको बताए । यसअघि धेरैले घरमै असुरक्षित सुत्केरी गराउने र त्यसले आमा र सन्तान दुवैको ज्यान जोखिममा पर्ने गरेको थियो ।
नगर प्रमुख थापाले भने, ‘त्यो समस्याबाट आम सुत्केरी दिदिबहिनी तथा नवजात शिशुलाई जोगाउन नगरपालिकाले यो योजना घोषणा गरेको थियो ।’ नगर प्रमुख थापाले सुत्केरी प्रोत्साहन योजना सफल भइरहेको दाबीसमेत गरे । विगतको तुलनामा स्वास्थ्य संस्थामा आई नियमित जाँच गराउने र संस्थामा पुगेर सुत्केरी हुने महिलाहरुको संख्या उल्लेख्य बढेको छ । उनले भने, ‘हामी यो कार्यक्रम सफल भएको ठान्दछौं ।’