२० असार २०८३, शनिबार

ठगीको माध्यम बन्दै बाउन्स चेक, प्रहरीमा बढ्यो बैंकिङ कसूरको उजुरी

माघ १०, २०७५
ठगीको माध्यम बन्दै बाउन्स चेक, प्रहरीमा बढ्यो बैंकिङ कसूरको उजुरी

बुटवल – रूपन्देहीमा पछिल्लो समय चेक बाउन्सका कारण बैकिङ कसूर अन्तर्गत उजुरी गर्नेको संख्या बढेको छ । उजुरी गर्नेमा जग्गा कारोबारी, घरजग्गा नामसारी, व्यापार र व्याजमा पैसा लगाउनेहरू बढी छन् ।

‘चेक बाउन्सको मुद्दा बढ्दो छ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्ल भन्छन्, ‘मानिसमा ठगीको नियत बढ्दै जाँदा चेकलाई माध्यम बनाउनेहरू बढेको देखिन्छ ।’ 

प्रहरी कार्यालयको मुद्दा फाँटका सई नवराज पोखरेलका अनुसार दैनिकजसो ठूलो–सानो चेक बाउन्सका उजुरी प्रहरी कहाँ आउने गरेका छन् । प्रहरीले छलफल गराउने वा सिधै मुद्दा चलाउने गरेको छ ।

इलाका प्रहरी कार्यालयले चेक बाउन्ससम्बन्धी मुद्दा उच्च अदालत बुटवलमा चलाउने गरेको छ ।

प्रहरी अधिकारीहरू सानातिना चेक बाउन्सका उजुरी हेरिनसक्नु गरी आउने गरेका बताउँछन् । चेक बाउन्स मुद्दामा कतिपयले सजायसमेत भोगिरहेका छन् । 

चेक बाउन्सका उजुरी प्रहरी कहाँ मात्र होइन स्थानीय तहका न्यायिक समितिमा समेत पर्ने गरेका छन् । न्यायिक समितिले उजुरीमाथि छलफल गराउने मात्र गर्दछ । तिलोत्तमा नगरपालिका उप–प्रमुख तथा न्यायिक समिति संयोजक जागेश्वरी चौधरी न्यायिक समितिमा अरूजस्तै आर्थिक लेनदेनका उजुरी पनि पर्ने गरेको बताइन् ।

प्रहरीका अनुसार ‘व्याज’ मा रकम लगाउने तथा घरजग्गा कारोबार गर्नेहरू चेक बाउन्सको उजुरी लिएर बढी आउने गरेका छन् । प्रहरीकहाँ हजारदेखि करोडसम्मका चेक बाउन्सका उजुरी पर्नेगरेका छन् । 

कसैलाई रकम दिनुछ भने ठगीको नियतले चेक दिने प्रवृत्ति बढेको प्रहरीको भनाइ छ । कतिपयमा पहिला कुरा मिलेसम्म चर्को व्याजमा पैसा लिने र अन्य लेनदेन गर्ने, कुरा नमिलेपछि चेक मागेर बाउन्स गराउने अनि प्रहरीमा पुग्ने प्रवृत्ति पनि छ । 

के हो चेक बाउन्स ?

भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु ‘चेक बाउन्स’ हो । खातावालाले कसैलाई चेकमार्फत् भुक्तानी दिँदा खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुन्छ । 

बैंक तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी गराउनुपर्छ । 

यसरी खातामा रकम अपर्याप्त भएका कारण फिर्ता भएको चेक पुनः बैंकमा भुक्तानीका लागि आयो र त्यतिखेर पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नुपरेमा कर्जा सूचना केन्द्रमा कारवाहीका लागि बैंक तथा वित्तीय संस्थाले उजुरी गर्नुपर्छ । पटक–पटक एउटै चेक बाउन्स हुनु बैंकिङ कसुर हो । 

चेक बाउन्स आर्थिक अपराध

पटक–पटक बाउन्स हुने गरी चेक दिनु बैंकिङ कसूर हो । चेक भनेको नगदसरह हो । नेपाल राष्ट्र बैंकले नगदको सट्टा बैंकमार्फत् कारोवार गर्न प्रोत्साहन गर्दै आएको छ । दश लाखभन्दा बढीको कारोबार नगदमा गर्न पाइँदैन, तर चेक बाउन्सको उजुरी बढ्दै जाँदा चेकप्रतिको विश्वसनीता माथि प्रश्न उठ्न थालेको जानकारहरू बताउँछन् ।

बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल भन्छन्, ‘चेक बाउन्स आर्थिक अपराध हो । चेकको विश्वसनीयता बढाउन समाजमा आर्थिक अनुशासन कायम गराउनुपर्छ ।’ 

उनका अनुसार समाजमा आर्थिक अनुशासन नहुँदा चेक बाउन्सको घटना बढेका छन् । 

चेक बाउन्समा कस्तो छ सयाज ? 

एउटै चेक तीनपटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैंकमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्छ । साथै, चेक बाउन्स भएको खातावालालाई जेलको सजाय पनि हुने व्यवस्था छ । यसका निम्ति हरेकपटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट माग्नुपर्छ । चेक बाउन्स हुँदा बैंकले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्दछन् । यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैंक आफैंले जानकारी दिने गर्दछ । तीनपटकसम्म चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले नै सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी गर्न सक्छन् ।

कालोसूचीमा पर्नेले बैङ्किङ कारोबार गर्न नपाउने 

खातामा रकम नभएको अवस्थामा भुक्तानी पाउनुपर्ने व्यक्तिले चेक जारी गर्ने जोकोहीलाई बढीमा सात दिनको समय दिई सम्बन्धित बैंक तथा वित्तीय संस्थामा पुनः चेक पेश गर्न पाउनेछन् । सो दिनसम्म पनि खातामा रकम जम्मा नभएमा बैंक तथा वित्तीय संस्थाले त्यस्तो चेक जारी गर्ने व्यक्तिलाई सात दिने सूचना दिनुपर्छ । सो अवधिमा पनि चेक भुक्तानी हुन नसकेमा अनिवार्य रूपमा कालोसूचीमा सूचीकृत गर्नुपर्ने व्यवस्था छ ।

कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैकिङ कारोबार गर्न पाउँदैन । खातावालाले आफूले जारी गरेको चेकको रकम भुक्तानी नहुँदै खाता बन्द गरेका कारण कुनै चेकको भुक्तानी हुन नसकेको पनि जानकारी प्राप्त हुनासाथ सम्बन्धित बैंक तथा वित्तीय संस्थाले कुनै माध्यमबाट सम्बन्धित खातावालालाई प्रचलित कानूनी व्यवस्थाअनुसार जानकारी गराउनुपर्नेछ । यसरी जानकारी गराएको अवस्थामा समेत उक्त चेकको भुक्तानी हुने व्यवस्था नगरेको खण्डमा त्यस्तो चेक जारी गर्ने व्यक्ति, फर्म वा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिश गरी पठाउनुपर्नेछ ।

गुड फर पेमेन्ट चेक लिँदा जोखिम कम

बैंकर्सहरू चेक बाउन्सबाट जोगिन ब्याक डेटको चेक लिन नहुने बताउँछन् । ‘गुड फर पेमेन्ट’ चेक लिएको अवस्थामा कुनै पनि समस्या नपर्ने उनीहरूको भनाइ छ । ‘गुड फर पेमेन्ट चेक’ मा पेमेन्ट गर्ने बैंक तथा वित्तीय संस्थाले सो चेक बराबरको रकम छुट्टै खातामा जम्मा गरी त्यसको सिस्टम प्रिन्टेड प्रमाण चेकमा उल्लेख गर्ने वा चेकसँग उपलब्ध गराउने गर्छन् । यसो भएपछि चेक लिने व्यक्तिको सिधा सम्बन्ध बैंक वा वित्तीय संस्थासँग रहने ज्योति विकास बैंक बुटवलका शाखा प्रबन्धक कपिल न्यौपाने भन्छन् । ‘गुड फर पेमेन्ट चेकको जिम्मा बैंकले लिन्छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्