०६ साउन २०८३, बुधबार

स्थानीय ठेकेदारबाट नै मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न संसदीय समितिको निर्देशन

स्थानीय ठेकेदारबाट नै मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न संसदीय समितिको निर्देशन

काठमाडौं –राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकले बहुराष्ट्रिय ठेक्कामा नगई स्थानीय ठेकेदारबाट नै मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न निर्देशन दिएको छ । 

समितिका सभापति दिलकुमारी रावल थापाले आयोजनामा देखिएको गतिरोध समाधान गर्न खानेपानी मन्त्रालयलाई सो निर्देशन दिइन् ।

राष्ट्रिय गौरवको उक्त आयोजना निर्माणमा इटालेली कम्पनी सिएमसीले डिसेम्बर १५ बाट नाटकीयरूपमा नेपाल छाडी काम नगर्ने बताएका कारण समितिले चाँडो वैकल्पिक व्यवस्थाबाट आयोजना निर्माण अघि बढाउन निर्देशन दिएको हो । 

सत्र वर्षपहिले मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न नेपाल सरकारले बहुराष्ट्रिय ठेक्का प्रणालीमार्फत सिएमसीसँग सम्झौता गरेको थियो । उक्त ठेक्का औपचारिकरूपमा तोडिएको आयोजना प्रमुख सूर्यराज पौडेलले समितिसमक्ष जानकारी दिए ।

पछिल्लोपटक सो कम्पनीले रु एक अर्ब ६५ करोड थप गर्न नेपाल सरकारलाई दबाब दिएको थियो । माग भएको उक्त रकम भुक्तानी गर्न नसकिने जानकारी आयोजनाले दिएपछि कम्पनीका पदाधिकारीले नाटकीयरूपमा नेपाल छाडेका थिए । 

काठमाडौंका चालीस लाख जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले शुरू भएको सो आयोजना निर्माणका लागि एसियाली विकास बैंकले ऋण उपलब्ध गराएको छ । 

सिएमसीका पदाधिकारी फरार भएपछि एशियाली विकास बैंकले आयोजनाको स्थलगत भ्रमण गरेको थियो । अवलोकनपश्चात् बैंकले आयोजनाका लागि थप ऋण उपलब्ध गराउन सक्ने बताए पनि अर्थमन्त्रालयबाट ऋण पत्र प्राप्त हुन कठिन भइरहेकाले आयोजना निर्माणमा ढिला भइरहेको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले समितिलाई जानकारी दिए । 

समितिले मेलम्ची खानेपानी आयोजनाका अतिरिक्त काठमाडौं महानगरपालिका, खानेपानी मन्त्रालय, खानेपानी संस्थान, काठमाडौं, उपत्यका खानेपानी लिमिटेडका बारेमा जानकारी लिएको थियो । 

बैठकमा समितिका सदस्य कोमल वली, खिमलाल भट्टराई, प्रकाश पन्त, जीवन बुढा, रामचन्द्र राय लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्