१३ असार २०८३, शनिबार

प्रियंका सक्रिय राजनीतिमा आउँदा उत्तर प्रदेशमा आफूलाई फाइदा हुने भाजपाको आँकलन

प्रियंका सक्रिय राजनीतिमा आउँदा उत्तर प्रदेशमा आफूलाई फाइदा हुने भाजपाको आँकलन

काठमाडौं — भारतीय राजनीतिमा प्रियंका गान्धीको सक्रिय प्रवेश र उनलाई पूर्वी यूपीको जिम्मेवारी दिइएपछि सत्तारूढ भारतीय जनता पार्टीले प्रदेशमा त्रिकोणीय प्रतिस्पर्धाको सम्भावना देखेको छ । 

प्रियंकाको सक्रियतासँगै प्रदेशका समाजवादी र बहुजन समाजवादी पार्टीको महागठबन्धनलाई टक्कर दिनका लागि भाजपासँगै कांग्रेस पनि अघि बढेको छ । त्रिकोणीय प्रतिस्पर्धाले आफूलाई फाइदा हुने भाजपाको आँकलन छ । 

प्रदेशमा कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीले अनेक स्थानमा उम्मेदवार परिवर्तन गर्नसक्ने भाजपाको आशंका छ । 

अहिले प्रदेश र केन्द्रमा भाजपाकै सरकार छ र उसले प्रियंकाका पति रोबर्ट वाड्रामाथि लागेका भ्रष्टाचारका आरोपलाई खुलेर निशाना बनाउनेछ । 

त्यसै पनि कांग्रेसको वंशवादी राजनीतिमाथि प्रहार गर्नका लागि भाजपासँग बहाना उपलब्ध नै छ । अब त झन् रोबर्टमाथि लागेको आरोपमाथिको अनुसन्धानलाई प्रभावित पार्नका लागि प्रियंका राजनीतिमा आएको भन्न सक्छ भाजपाले ।

पूर्वी यूपीमा भाजपाका ठूला नेता मनोज सिन्हाले प्रियंका राजनीतिमा आउँदा जति हल्ला भएको छ, धरातलमा त्यसको खासै चर्चा छैन । सिन्हाले भने, ‘मैले यो दुई दिनमा हजारौं मानिससँग कुराकानी गरेर प्रतिक्रिया लिएँ । गैरभाजपा कार्यकर्तासँग पनि कुरा गरें । प्रियंकाको चर्चै छैन यहाँ ।’

जातिगत आधारमा भोट खसेमा ब्राह्मणहरूको भोट भाजपाले नै पाउने भाजपा कार्यकर्ताहरूको दाबी छ । गरीब तप्काका विद्यार्थीको शिक्षा र रोजगारीमा १० प्रतिशत आरक्षणको घोषणालाई पनि भाजपाले आफ्नो चतुर रणनीति मानेको छ । 

तर उत्तर प्रदेशको राजनीतिमा नजर राख्ने मानिसले आरक्षणको दाउ र मुख्यमन्त्री ठाकुर समुदायका योगी आदित्यनाथ बनाइएकोले ब्राह्मणहरू रिसाएको बताइरहेका छन् । त्यसैले गर्दा पनि ब्राह्मणहरूले भाजपालाई नभई कांग्रेसलाई भोट दिने सम्भावना छ । 

कांग्रेसले कथंकदाचित् केही सीटमा सपा र बसपाको गठबन्धनको साथ पाएमा मुसलमानको भोट उतै जाने र भाजपाको स्थिति कमजोर हुने भनी भाजपा डराएको चाहिँ देखिन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्