
काभ्रे, २७ फागुन - राजधानी काठमाडौं उपत्यकासँग जोडिएको काभ्रे जिल्लाको विकट डाँडापारि र कोशीपारि क्षेत्रमा पर्ने डेढ दर्जन गाविसका हजारौं मानिस स्वास्थ्यसंस्था भएपनि पर्याप्त औषधि र सामान्य उपचार पाउनबाट समेत वञ्चित भइरहेका छन् ।
रुघाखोकी, झाडापखाला र ज्वरोलगायत सामान्य तथा अत्यावश्यक उपचारका लागि समेत बिरामीले दिन नै बिताउनुपर्ने अवस्था रहेको गोकुले गाविस कि ५७ वर्षीया सानुमाया तामाङले दुखेसो पोखिन् ।
अझै सूचना सञ्चार र यातायातको राम्रो पहुँच पुग्न नसकेको डाँडापारि क्षेत्रका बिरामीले समयमै उपचार पाउन नसक्दा अकालमै ज्यान गुमाउने गरेको स्थानीयहरू गुनासो गर्छन् । ‘कोही बिरामी भयो भने स्टे«चर खोज्न गाउँ डुल्नुपर्ने अवस्था छ,’ स्थानीय बहादुर थिङले भने ‘डाँडापारि क्षेत्रमा न यातायातको पहुँच छ, न नजिकै मेडिकल र अस्पताल नै छन् ।’
स्वास्थ्य चौकी जान चार घण्टा आउन पाँच घण्टा लाग्ने उनले बताए । समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढ्दैछ । स्वास्थ्य संस्था नजिक नभएका कारण सुत्केरी हुन नसकी दुई दिनअघिदेखि घरमै छटपटाउनुपरेको डाँडागाउँ गाविसकी लीलामाया घलान बताउँछिन् ।
‘बेथा लागेको दुई दिनसम्म बच्चा पाउन सकिनँ, सात घण्टाको पैदलयात्रापछि स्वास्थ्य चौकी त पुगें तर त्यहाँका स्वास्थ्यकर्मीेले केस जटिल भएको भन्दै अस्पताल जान सिफारिश गरे,’ उनले दुखेसो पोख्दै भनिन्, ‘समस्यामाथि समस्या थपियो सुत्केरीलाई डोकोमा ९ घण्टा बोकर अस्पताल पु–याइयो ।’ समयमै उचित उपचार नपाएका कारण आफूजस्तै धेरै महिलाले सुत्केरी अवस्थामा सास्ती खेप्नुपरेको घलानले बताइन् ।

त्यस्तै सालधारा गाविसका ४३ वर्षे रत्न तामाङलाई सर्पले डस्यो तर स्वाथ्स्य संस्था नजिक नभएकाले उनले पनि स्वास्थ्य सेवा औषधि नपाएको गुनासो गरे । ‘धन्न धुलिखेल अस्पताल पुगियो र बाँचें,’ लामो सास तान्दै उनले आफ्नो दुखेसो पोखे ।
‘पीडा सहनु हाम्रो रहर होइन, बाध्यता भयो । राति भएभरको स्वास्थ्य संस्था पनि बन्द हुन्छ । मर्नेबाहेक अरू विकल्प रहँदैन,’ उनले दुखेसो सुनाइरहे ।
यिनीहरू विकट क्षेत्रका प्रतिनिधि पात्र मात्र हुन् । जिल्लाका विकट क्षेत्रहरूमा यातायात र व्यवस्थित स्वास्थ्य संस्था नभएकै कारण कैयौं बिरामीले अकालमै ज्यान गुमाउने गरेको फलामेटार गाविसका रणे तामाङ बताउँछन् ।
‘साँझ, बिहान र राति दुर्घटनामा परेका र अपर्झट बिरामीको कुनै उपचार हुँदैन । नजिक अस्पताल छैन, स्वास्थ्य चौकीमा स्रोतसाधन र जनशक्ति पाइँदैन,’ उनले भने, ‘विशेषगरी वृद्ध, सुत्केरी, बालबालिका बिरामी हुदा समस्या पर्ने गरेका छन् ।’
तामाङका अनुसार सदरमुकामको अस्पतालमा उपचारका लागि १२ घण्टासम्म महाभारतको जंगल हिँडेर आउनुपर्ने बाध्यता छ ।
जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. अर्जुन सापकोटा भने जिल्लाको भौगोलिक अवस्थाका कारण सेवाग्राहीलाई उपचारमा समस्या भएको स्वीकार्छन् । ‘यातायात सञ्चार नपुगेका गाविसका स्वास्थ्य संस्थामा औषधि तथा अन्य समान ढुवानी गर्न कठिन छ,’ उनले थपे, ‘अन्य मेडिकल र अस्पताल नभएकाले बिरामीको चापसमेत बढी हुने गर्दा जटिल बिरामीलाई समस्या हुने गरेको छ । विकट क्षेत्रमा रहेका स्वास्थ्य संस्थाको पूर्वाधार र दक्ष जनशक्तिका लागि केन्द्रीय स्तरको बजेटको र नीति आवश्यक पर्छ ।’
तालढुङ्गा स्वास्थ्य चौकीका वरिष्ठ अहेव रामपुकार यादव भने स्वास्थ्य संस्थामा पर्याप्त पूर्वाधार र स्रोतसाधन नभएका कारण समस्या हुने गरेको गुनासो गर्छन् । ‘अस्पताल टाढा छ । केही तत्काल गर्नुपर्ने उपचार पनि सम्भव छैन,’ उनले थपे, ‘साधारण एक्सरे मशिन, पर्याप्त स्ट्रेचर, टाँका लगाउने साधन र आवश्यक निःशुल्क र अन्य औषधिहरूको व्यवस्था गर्न सके बिरामीलाई अलि सहज हुने देखिन्छ ।’
जिल्लाको विकट डाँडापारि क्षेत्रमा पर्ने गाविसमध्ये मिल्छे, साल्मेचाकल, घर्तीछाप, बन्खु, फोक्सिङटार र बूढाखनी र दुर्गम कोशीपारि क्षेत्रमा रहेका १७ गाविसमध्ये कार्तिक देउराली धुसेनी शिवालय, बिर्तादेउराली, बेगसिम्ले, सानो बाङथली, भूम्लुटार र कोलातीभूम्लु गाविसका स्थानीयहरू बढी समस्यामा रहेका छन् ।