
धनगढी – सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले प्रदेश सरकारसँग बजेट कार्यान्वयनको प्रगति विवरण माग गरेको छ ।
समितिको आइतवार बसेको बैठकले प्रदेश सरकारबाट चालू आव हालसम्मको बजेट प्रगति वितरण र प्रदेश सभाले हालसम्म किन बिजनेस पाउन नसकेको भन्दै माघ १८ गतेभित्र जवाफ पेश गर्न माग गरेको हो ।
समितिका सभापति नेपालु चौधरीले भने, ‘आव २०७५÷०७६ को बजेट कार्यसञ्चालन सम्बन्धमा प्रदेश सरकारले गरेको कामकाजबारे पटक–पटक सभामा प्रश्न उठ्ने गरेकोले सो सम्बन्धमा के कति कामकाज अगाडि बढाइएको छ ? त्यसको जवाफ प्रदेश सरकारबाट माग गर्ने निर्णय गरेका छौं ।’
सभापति चौधरीले विधेयक मस्यौदा प्रदेशसभा सचिवालयमा दर्ता नभएकोबारे आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग स्पष्टीकरण माग गर्ने निर्णय भएको जानकारी दिए ।
‘प्रदेश सभालाई बिजनेस दिने कार्यमा निर्धारित समयमा विधेयकका मस्यौदा प्रदेशसभा सचिवालयमा दर्ता हुन नआएकाले के कति कारणबाट उक्त कार्यमा अवरोध हुन आएको हो ? सोको स्पष्टीकरण सहितको जवाफ दिनको लागि कानूनमन्त्री र मन्त्रालयका कानून महाशाखाका प्रमुखलाई प्रयोजनको लागि पत्रचार गरेका छौ,’ सभापति चौधरीले लोकान्तरलाई भने ।
सभापतिले चौधरीले माघ १८ गते बस्ने समितिको आगामी बैठकमा जवाफ दिन पत्रचार गरेको पनि बताए ।