
काठमाडौं– मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्य गम्भीर त्रुटि गरेको औंल्याएको छ । आयोगले प्रहरीका डीएनए विज्ञहरूमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखी घटनाका सम्बन्धमा चारवटा सिफारिस र २४ वटा निर्देशन दिएको छ । अनुसन्धान क्रममा प्रहरीबाट शृंखलाबद्ध गल्ती भएको र डीएनए परीक्षणमा विज्ञहरूबाट लापरबाही गरिएको आयोगले जनाएको छ ।
‘प्राप्त डीएनएको अटोसोमल प्रविधिबाट परीक्षण सम्भव हुँदाहुँदै वाइएसटीआर प्रविधिबाट मात्र परीक्षण गरिएकाले यस्तो त्रुटिपूर्ण परीक्षणमा संलग्न प्राविधिकहरूलाई छानबिन दायरामा ल्याउनू’ , आयोगले भनेको छ । आयोगको अनुसन्धानमा खटिएका विज्ञका अनुसार तीन किसिमका डीएनए परीक्षण प्रचलित छ, अटोसोमल एसटीआर, वाईएसीटआर र माइटोकोन्ड्रियल सिक्वेन्सिङ । कुनै पनि दुई व्यक्तिमा नहुने हुनाले अटोसोमल एसटीआर अपराधी पहिचानका लागि गरिने मुख्य डीएनए परीक्षण हो।
वाईएसटीआर पुरुषको वंश पत्ता लगाउन गरिने परीक्षण भए पनि यसको नमुना धेरै जनासँग मिल्न सक्छ । नेपालमै भएको एक अध्ययनअनुसार वाईएसटीआर भिन्न–भिन्न भौगोलिक अवस्थामा बसेका भिन्न–भिन्न थरका १५ जनासम्म व्यक्तिमा मिलेको देखिन्छ । यसबाट भरपर्दाे नतिजा निस्कन नसक्ने हुनाले अपराधी पत्ता लगाउन अटोसोमल परीक्षण नै गर्नुपर्ने आयोगका विज्ञहरूले बताएका छन् ।
आयोगले प्रधानमन्त्रीलाई पठाएको मिसिलमा भनिएको छ, ‘निर्मला पन्तको घटनामा वाईएसटीआर प्रविधिबाट मात्रै परीक्षण गरिएको छ, यसबाट वंश÷समूह पहिचानमा मात्र सघाउ पुग्छ । व्यक्ति पहिचान गर्न सकिने परीक्षण प्रविधि प्रयोग गरेको पाइएन ।’ अनुसन्धान क्रममा गम्भीर लापरबाही, गल्ती र कानुनसमेत तोड्ने काममा संलग्नलाई कारबाही गर्न आयोगले सिफारिस गरेको छ । निर्मला बलात्कृत भई मारिएको सात दिनपछि मात्रै प्रहरी उपरीक्षक दिल्लीराज विष्ट घटनास्थलमा पुगेको आयोगले जनाएको छ ।
‘यस्तो गम्भीर घटनामा मौकामा घटनास्थल नजानु र घटनाको अनुसन्धानमा पर्याप्त मात्रामा पदीय जिम्मेवारी निर्वाह गर्न नसक्नुबाट मानव अधिकारप्रति संवेदनशील बन्न नसकेको प्रस्ट्याउँछ,’ आयोगले भनेको छ ।, कान्तिपुरमा खबर छ ।
सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने कांग्रेसको निर्णय
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदबाट जवरजस्ती चिकित्सा शिक्षा विधेयक पारित भएको घटनालाई गम्भीर रुपमा लिँदै त्यसविरुद्ध देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले माघ २१ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
यस्तै जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले दुष्प्रयास गरेको कांग्रेसको आरोप छ । प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति विना नै संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीत भएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । त्यसअवसरमा उहाँहरुबीच स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवं स्वीट्जरल्याण्डसँगको आपसी हित तथा अन्य समसामयिक विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडालगायत वरिष्ठ सरकारी अधिकारीको उपस्थिति थियो ।
प्रचण्डको वक्तव्यप्रति अमेरिकाद्वारा धारणा माग
नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ । सत्तारूढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’मा लिएको भन्दै अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरेकारको धारणा प्रस्ट पार्न आग्रह गरेको हो।
‘सरकारको धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाएका छौं,’ अमेरिकी राजदूतावासका एक अधिकारीले भने । दाहालले गत शुक्रबार भेनेजुएलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए । भेनेजुयलाका जनता, सार्वभौमसत्तामाथि हस्तक्षेप भन्दै यसलाई ‘साम्राज्यवादी कु’ गर्ने प्रयासका रूपमा टिप्पणी गरेका थिए ।, कान्तिपुरमा खबर छ ।
हिमपातले चिनियाँ सामान आयात ठप्प
हिमपातले सडक अवरोध भएका कारण नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सामानको आयात बन्द भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार हिमपातले चिनियाँ भूभागको सडक चार दिनदेखि बन्द भएको आफूले जानकारी पाएको र मालसामान लिन गएका कुनै पनि मालवाहक सवारी साधन फर्किएका छैनन् ।
भन्सार हातामा प्रवेश गरेका मालवाहक सवारी साधनको सामान मात्र परीक्षण गरी काठमाडौँतर्फ पठाउन छोडपुर्जी दिने काम भने अगाडि बढेको भन्सारले जनाएको छ । रसुवागढीनाकाबाट करीब ३०० मालवाहक सवारी साधन मितेरीपुलबाट केरूङतर्फ गएको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक जीवन केसीले जानकारी दिए ।
संविधानको मर्मअनुसार नागरिकता संशोधन विधेयक ल्याउन सुझाव
नागरिकतासम्बन्धी नेपालको संविधानको प्रावधान तथा यसको मर्म, भावनालाई बुझेर ‘नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ ल्याइनुपर्ने सुझाव दिइएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको ‘नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ संशोधनमाथिको बुँदागत छलफलमा सांसदले आइतबार सो सुझाव दिँदै आमाको नामबाट नागरिकता जारी हुने प्रावधानलाई अझ सरलीकृृत बनाई ‘आमालाई वंशमा’ स्थापित गराउनुपर्ने बताए ।
जन्मसिद्ध नागरिकताबाट जन्मेका तथा नेपालको नागरिकता ऐन, २०६३ जारीको समयमा नागरिकता लिन बालिग नपुगेकालाई अहिले नागरिकता लिन समस्या भएकोतर्फ सरकारको ध्यानाकर्षण गरे । गृहमन्त्रालयका अनुसार सो ऐन जारी भएपछि घुम्ती शिविर र जिल्ला प्रशासन कार्यालयबाट २५ लाख ५४७ ले नेपाली नागरिकता लिएका थिए । तीमध्ये एक लाख ९० हजार जन्मसिद्ध रहेका थिए ।
बक्यौता उठाउन संसदीय समितिको निर्देशन
व्यवस्थापिका संसद्को विकास तथा प्रविधि समितिले दूरसञ्चार प्राधिकरणलाई बुझाउन बाँकी बक्यौता रकम असुली गर्ने प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएको छ । बक्यौता रकम असुली नभएको अवस्थामा अनुमतिपत्रअनुसार सेवा सञ्चालन नगरेका कम्पनीलाई यथाशीघ्र सेवा प्रारम्भ गराउन र अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाउन समितिले निर्देशन दिएको छ ।
दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म नौ कम्पनीको रु दुई अर्ब ९६ करोड ६५ लाख ८५ हजार बक्यौता छ । स्मार्ट टेलिकमको मात्रै रु एक अर्ब ४० करोड ६७ लाख ५८ हजार र युनाइटेड टेलिकमको रु ७९ करोड ४२ लाख ९५ हजार बक्यौता छ । समितिले दूरसञ्चार नीतिलाई समय सापेक्ष बनाउँदै दूरसञ्चार ऐन र नियमावलीको संशोधन प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनीको अनुमतिपत्र नवीकरण गर्दा दस्तुर रकम यथाशीघ्र टुङ्ग्याउनसमेत निर्देशन दिएको छ ।
रुपन्देही च्यालेन्जर्समा दुई विदेशी खेलाडी अनुबन्ध
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटका लागि रुपन्देही च्यालेन्जर्सले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । हङकङका बाबर हायात र पाकिस्तानका पहिलो श्रेणीका क्रिकेट खेलाडी राजा अली डरलाई अनुबन्ध गरेको रुपन्देही च्यालेन्जर्सले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
तेस्रो संस्करणको डीपीएल आगामी माघ २६ गतेबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुँदैछ । प्रतियोगितामा धनगढी स्टार्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।