
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । यूएईको दुबइमा भएको एक दिवसीय सिरिज बिजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले एक दिवसीय क्रिकेट श्रृङ्खला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएको भन्दै क्रिकेट टिमलाई बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय क्रिकेटमा प्राप्त सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको भन्दै खेलकुद क्षेत्रको विकासमा सरकारले थप ध्यान दिने बताए ।
प्रधानमन्त्रीको ट्वीटमा भनिएको छ, ‘एक दिवसीय क्रिकेट श्रृंखला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वधाई १ अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको छ। खेलकूद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु ।’
नेपालले सोमबार तेस्रो तथा अन्तिम खेलमा यूएईलाई हराउँदै तीन खेलको एक दिवसीय श्रृङ्खला हात पारेको थियो । एक दिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले पहिलो पटक सिरिज हात पारेको हो ।