०७ असार २०८३, आइतबार

प्रदेशको बिदाले सिंहदरबारमा अन्योल, भोलि कार्यालय आउने कि नआउने ?

प्रदेशको बिदाले सिंहदरबारमा अन्योल, भोलि कार्यालय आउने कि नआउने ?

काठमाडौं – ३ नम्बर प्रदेश सरकारले माघ १६ गते बुधवार शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले गरेको बिदा प्रदेशभर कार्यान्वयन हुनुपर्ने भएकाले संघीय सरकार सञ्चालनको केन्द्र सिंहदरबार पनि ३ नम्बर प्रदेशमा पर्ने हुँदा बिदा हुनुपर्ने हो । तर सिंहदरबारमा बिदा सम्बन्धी कुनै औपचारिक निर्णय सार्वजनिक गरिएको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बिदा सम्बन्धी कुनै जानकारी प्राप्त नभएको बताए । ‘अहिलेसम्म कुनै जानकारी आएको छैन । अब सरकारले, गृह मन्त्रालयले के निर्णय गर्दै छ रे !’ मंगलवार अपराह्न ४ बजेतिर लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘अहिलेलाई आधिकारिक केही भन्न सकिएन ।’

३ नम्बर प्रदेशको मन्त्रिपरिषद्ले यसअघि नै माघ १६ गते बिदा घोषणा गरिसकेको छ । गत पुस ३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बसेको अन्तरप्रदेश परिषद्को बैठकले प्रदेश सरकारले दिएको बिदामा संघ मातहतका कार्यालय पनि बन्द हुने निर्णय गरेको थियो ।

अन्य प्रदेशमा गरिएको बिदा संघ सरकार मातहतका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले नमान्ने गरेको सन्दर्भमा प्रदेश समन्वय परिषद्ले संघका कार्यालय पनि बिदा हुने निर्णय गरेको थियो । तर बिदा दिने निर्णय संघ सरकारको केन्द्र सिंहदरबारमा कार्यान्वयन नभए परिषद्को निर्णय संघ सरकारबाटै उल्लंघन हुने देखिएको छ ।

प्रदेशको बिदाबारे संघ सरकारले समयमै निर्णय नगर्दा ३ नम्बर प्रदेशमा केन्द्रीय कार्यालय रहेका विभिन्न सरकारी निकाय, वित्तीय संघसंस्था, शैक्षिक संस्था लगायत क्षेत्रमा समेत अन्योल देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्