
सुर्खेत -कर्णालीको राजधानी वीरेन्द्रनगरलाई खानेपानी आपुर्ती गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिले उपत्यकामा तीनवटा पानी ट्यांकी निर्माणमा तीव्रता दिएको छ ।
संस्थाको आ.व.०७५/०७६ को बार्षिक कार्यक्रम अनुसार स्किम नं २ (वीरेन्द्रनगर १२ र वीरेन्द्रनगर १० को सबस्टेसन पूर्व देखि नेबारे खोला पश्चिम सम्मको भागमा ४ सय घनमिटरको पानी ट्यांकीको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले सोमबार ढलान गरेका हुन । यसअघि उक्त क्षेत्रका लागि तीन सय ९० घनमिटर क्षमता भएको पानी ट्यांकी बनाइएको अध्यक्ष देवकोटाले बताए ।
निर्माणाधिन पानी पोखरीको कूल अनुमानित लागत ४१ लाख, १ हजार ४ सय ६१रुपैयाँ रहेको छ भने यहि चैत १ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।
स्किम नं २ को पानी पोखरी निर्माणका लागी उत्तर पश्चिम पृतना हेडक्वाटर, नेवारे व्यारेक, सुर्खेतले जग्गा स्वीकृती प्रदान गरी सहयोग प्रदान गरेको अध्यक्ष देवकोटाको भनाइ थियो । उक्त स्किम नं २ मा १८ सय ५० धाराहरु संचालनमा रहेका छन् ।
यस्ते संस्थाले स्किम नं ४ ( वीरेन्द्रनगर ११ अमृतडाँडा देखि मनिकापुर सम्मको भागमा पनि एक ट्यांकी निर्माण गर्ने भएको छ । अध्यक्ष देवकोटाका अनुसार पुरानो संचालनमा रहेको एउटा पानी पोखरी रहेको तथा पोखरीको क्षमता १ सय घनमिटर रहेकोमा हाल निर्माणाधिन पानी पोखरीको क्षमता २ सय घनमिटर रहेको छ ।
कूल ३१ लाख ८० हजार १ सय ४६ रुपैयाँ अनुमानित लागत रहेको उनको भनाई थियो । यो पोखरी फागुन २० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । उक्त स्किम नं ४ मा ५ सय २ धारा संचालनमा रहेका छन् ।
स्किम नं ६ वीरेन्द्रनगर २ कोलडाँडा देखि दौलतपुरसम्मको भागमा पनि दुई सय घनमिटर बराबरको ट्यांकी निर्माण शुरू भएको संस्थाका नायव सुब्बा चन्द्रप्रकाश देवकोटाले जानकारी दिए । उनका अनुसार पुरानो सन्चालनमा रहेको पानी पोखरीको क्षमता १ सय घनमिटर रहेकोमा अब बन्ने नयाँ पोखरीको क्षमता २ सय घनमिटर क्षमताको हुनेछ ।
यो पोखरी आगामी चैत २० गतेसम्म निर्माण कम्पनीले निर्माण सम्पन्न गरिसक्नुपर्ने देवकोटाले बताए । यो पोखरी निर्माणका लागि ३१ लाख ७५ हजार ९५७ रुपैंया लागत लाग्ने अनुमान गरिएको उनको भनाई थियो । स्किम नं ६ को पानी पोखरी निर्माणका लागि शसस्त्र प्रहरी बल महेश्वरी बाहिनी सुर्खेतले जग्गा स्वीकृती प्रदान गरि सहयोग गरेको छ । स्किम नं ६ मा ९ सय ८ धारा संचालनमा रहेका छन् ।