०९ साउन २०८३, शनिबार

राष्ट्रिय सभामा कांग्रेसको ‘शालीन’ विरोध, विधेयक पारित गर्दा उभिएर टुलुटुलु

राष्ट्रिय सभामा कांग्रेसको ‘शालीन’ विरोध, विधेयक पारित गर्दा उभिएर टुलुटुलु

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद् चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । 

चिकित्सा शिक्षा विधेयक पारित गर्ने क्रममा प्रतिनिधि सभामा नाराबाजी गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभामा ‘शालीन’ विरोध प्रदर्शन गरेको छ । 

बैठकको शुरूमा अध्यक्षसँग समय लिएर बोलेपछि कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका हुन् । 

यसअघि वेलमा आएर नाराबाजी गरेका सांसदहरू आज भने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न जाने क्रममा उभिएर विरोध जनाएका थिए । 

विधेयकमाथि संशोधन राखेपनि कांग्रेसका राधेश्याम अधिकारीले छलफलमा भाग लिएनन् । उनले सरकारले जबरजस्ती विधेयक पारित गर्न खोजेका कारण नबोल्ने बताए । 

विधेयक माथिको अर्को संशोधन प्रस्तावका प्रस्तावक राजपाका विषेशचन्द्र लालले प्रमुख प्रतिपक्षी दलको विरोधकाबीच बोल्नु पर्दा अफ्ठ्यारो लागेको बताए । उनले सरकारले गरेको सम्झौता अक्षरशः पालना गर्नुपर्ने बताए । 

त्यसअघि बैठकको शुरूमै अध्यक्षसँग समय लिएर कांग्रेसका जितेन्द्र देवले डा. केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए ।

उनले प्रतिनिधि सभाबाट पारित विधेयक विधायन व्यवस्थापन समितिमा पठाएर देशलाई निकास दिन आग्रह गरे । 

छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा शिक्षा मन्त्री पोखरेलले विधेयकले डा. गोविन्द केसीका धेरै माग सम्बोधन गरेको बताए ।

उनले एकपटक आशयपत्र पाएका अस्पताललाई रोक्नु लोकतन्त्रको मर्म विपरीत हुने दाबी गरे । 

‘विगतका प्रजातान्त्रिक सरकारले आशयपत्र दिइसकेका मेडिकल कलेजलाई एक पटकका लागि अनुमति दिनुपर्छ । लोकतन्त्रमा एउटा सरकारले आशयपत्रको अनुमति दिएको विषय पनि विधिको शासनमा पर्छ होला नि !’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्