
सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्र कुमार कोइरालाले चौकुनेमा कृषि क्याम्पस स्थापना गर्नका लागि भौतिक पूर्वाधार विकास गर्न आवश्यक भएको बताएका छन् ।
उनले कृषि क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्बन्धन दिन नसक्ने तर आफ्नो अभिन्न अंगको रूपमा विकास गर्न सक्ने बताए । सार्वजनिक शिक्षाको गुणस्तर र विकास नगरी मुलुकले विकासको गति पक्रन नसक्ने भन्दै जनप्रतिनिधि हरूले त्यसमा लगानी र ध्यान दिनुपर्नेमा जोड दिए ।
उक्त क्षेत्रबाट निर्वाचित कर्णाली प्रदेशका सांसद विन्दमान बिष्टले प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गर्न आवश्यक ठहर गरेकोतर्फ संकेत गरे । त्यसैका लागि चौकुनेमा कृषि क्याम्पस संचालनमा ल्याउन त्यस क्षेत्रमा अवस्थित माध्यमिक तहमा विद्यालयहरूमा विज्ञान विषय पढाउन आवश्यक भएको र दिगो बिकासमा लागि शिक्षामा लगानी गर्न र आवश्यक समन्व गर्न सबै जनप्रतिनिधिहरू जिम्मेवार भएर बजेट बढाउन लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
कर्णाली प्रदेशका योजना आयोगका सदस्य योगेन्द्र बहादुर शाहीले चौकुने ऐतिहासिक व्यापारिक महत्त्वको ठाउँ भएको स्मरण गर्दै चौकुनेको विकासका लागि कृषि क्याम्पस स्थापनाको पहलले यस क्षेत्रको विकास र जीवन स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
त्यसका लागि कर्णाली प्रदेश योजना आयोगले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनको भनाई थियो । नेकपाका नेता नरबहादुर बिष्टले चौकुनेको विकासका लागि सडक, विद्युत लगायतका पूर्वाधारका साथै प्राविधिक शिक्षामा लगानी गर्न आवश्यक भएकोले आफ्नोतर्फबाट सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय रजिष्ट्रार यम बहादुर कार्की, पाठ्यक्रम विकास केन्द्रका निर्देशक लिलाधर तिवारी, चौकुने गाउपालिकाका अध्यक्ष धिर बहादुर शाही लगायतकाले आफ्नो धारणा राखेका थिए भने क्याम्पस स्थापनाका लागि दान गर्ने विभिन्न सामुदायिक बन समिती र चन्दादाताहरूलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो ।